महिला क्रिकेटमा बंगलादेशलाई स्वर्ण, नेपालकी अंजली सर्वोत्कृष्ट खेलाडी

पोखरा २२ मंसिर / १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा बंगलादेशले स्वर्ण पदक जितेको छ । आइतबार पोखरा रंगशालामा भएको फाइनल खेलमा श्रीलंका माथि २ रनको रोचक जित निकाल्दै बंगलादेशले स्वर्ण जितको हो । श्रीलंकाले रजत पदक हातपार्दा नेपालले कास्यमा चित्त बुझायो ।

फाइनल खेलमा टस हारेर ब्याटिङ्ग गरेको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाएर ९१ रनको मध्यम स्कोर बनाएको थियो । जितका लागि ९२ रनको लक्ष्य पछ्याएको श्रीलंका जितको नजिकै पुगेर ९ विकेटको क्षतिमा ८९ रन मात्रै बनाउन सक्यो ।

श्रीलंकालाई रोक्ने क्रममा बंगलादेशका बलरहरु नहिदा अख्तरले २ तथा जहानरा आलम, सलमान खातुन र खादिजा खुर्वाले समान एक÷एक विकेट लिए । ४ ओभरको स्पेलमा १ मेडन सहितमात्रै ९ रन खर्चिएर २ विकेट लिएकी नहिदा अख्तर प्लेयर अफ द फाइनल भइन् ।

यस अघि पहिला ब्याटिङ गर्दै ९१ रन बनाएको बंगलादेशका लागि निगार सुल्तानले सर्वाधिक २९ रन जोडिन् । त्यस्तै, संजिदा इस्लाम र फाहिमा खातुनले समान १५/१५ रन बनाए भने मुर्सिबा खातुनले १४ रन बनाइन् । श्रीलंकाको बलिङ्गमा उमासाथि मेसाजले ४ तथा सत्या सन्दिपनी, सरिका सेवान्डी, कभिसा दिल्हारी र नलासा रनतुङ्गाले समान १/१ विकेट हाता पारे । श्रीलंकाको ब्याटिङ्गमा हर्षिता समाराविराले ३२, लिहिनी अप्सराले २५ तथा निलक्साना सन्दामिनीले १० रन जोडिन् ।

४ इनिङ्गमा ११.१ ओभर बलिङ्गगर्दै ५ मेडन सहित ११ विकेट लिएकी नेपालकी बलर अंजली चन्द प्रतियोगिता कै उत्कृष्ट बलर सहित सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । त्यस्तै ४ इनिङ्गमा १ सय ८७ रन जोडेकी श्रीलंकाकी हर्षिता समारा विकर्मा उत्कृष्ट ब्याट्स्उमन घोषित भइन् ।

विजयी खेलाडीहरुलाई समापन समारोहका गण्डकी प्रदेशका उद्योग, पर्यटन तथा वनवातावरण मन्त्री विकास लम्साल, विशेष अतिथि नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्द, गण्डकी प्रदेशका सांसद मोहन रेग्मी, दिपक कोइराला, राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङ्ग, क्यानका केन्द्रिय सदस्य ऋषि गौतम, क्यान गण्डकी अध्यक्ष देवेन्द्र प्रजु, क्यान कास्की अध्यक्ष सञ्जय कान्त सिग्देल, टुर्नामेण्ट डाइरेक्टर उत्तम कर्माचार्य लगायतले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

कमेन्टहरु
Loading...