महिला क्रिकेटमा नेपाल कास्यमा सिमित

पोखरा, २१ मंसिर / (बायाँहाते स्पीनर अर्थोडक्स) अन्जली चन्दले घातक बलिङ गरेपछि माल्दिभ्सले दिएको ९ रनको चुनौतिलाई १.१ ओभरमा पुरा गर्दै नेपालले महिला क्रिकेटमा कास्य पदकमा चित्त बुझाएको छ ।

लिगको पहिलो खेलमा १६ रन बनाएको माल्दिभ्स कास्य पदक प्रतिस्पर्धामा भने केवल ८ रनमै सबै विकेट गुमाउन पुग्यो । माल्दिभ्सका खेलाडीको व्याटबाट १ रन मात्रै निस्कियो । बाँकी ७ रन भने वाईडमार्फत दिएको थियो ।

पोखराको क्रिकेट मैदानमा शनिबार भएको प्रतिस्पर्धामा अन्जली चन्दले सस्तैमा समेट्ने क्रममा ४ ओभरमा ३ मेडन राख्दै १ रन दिएर ४ विकेट लिईन् । उनको यो महत्वपूर्ण स्पीनमा माल्दिभ्सका महिला खेलाडीहरु घुमेपछि सबै एकपछि अर्को गरी शून्य रनमै पभेलियनको बाटो समाएका थिए । माल्दिभ्सका लागि आईमा आईसाथको व्याटबाट मात्रै १ रन निस्किएको थियो ।

नेपालले ९ रनको लक्ष्यलाई १.१ ओभर खेल्यो । काजल श्रेष्ठले २ र रोमा थापाले ५ रन बनाईन् । दुई रन भने वाईड मार्फत आएपछि नेपालले सजिलो जित निकाल्दै कास्य पदकको हकदार बन्यो । खेलमा प्लेयर अफ दि म्याच भने अन्जली चन्द घोषित हुदैं पुरस्कार थापिन् ।

१३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मार्फत अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेको माल्दिभ्स पोखराको मैदानमा केवल अनुभव सगाँल्ने अवसर मात्रै हुन पुग्यो । स्वर्ण पदकको प्रतिस्पर्धा भने बंगलादेश र श्रीलंका बीच हुने छ । नेपाल अघिल्लो दिन श्रीलंकासँग पराजित भएसँगै स्वर्ण पदकको प्रतिस्पर्धाबाट टाढिएको थियो ।

कमेन्टहरु
Loading...