भारोत्तोलनमा नेपाललाई दोस्रो स्वर्ण, विकास थापाको नयाँ राष्ट्रिय कीर्तिमान

पोखरा, २० मंसिर/ नेपालका विकास थापाले १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत भारोत्तोलन प्रतियोगिताको ८९ केसी तौल समूहमा राष्ट्रिय कीर्तिमान कायम गर्दै स्वर्ण हात पारेका छन् ।

पोखरा १२, माटेपानीस्थित एसआर केसी बैंक्युटमा शुक्रबार भएको खेलामा उनले ८९ केजी तौल समूहमा २६९ केजी भार बहन गर्दै आफ्नै नाममा रहेको रेकर्ड भंग गरे । थापाले स्न्याचमा १२३ र क्लीन एण्ड जर्कमा १४६ गरी कुल २६९ केजी भार बहन गरे ।

यसअघि छनोट चरणमा थापाको नाममा स्न्याचमा १२२ र क्लीन एण्ड जर्कमा १४२ सहित २६४ केजीको रेकर्ड रहेको भारोत्तोलन प्रतियोगिताका प्रवक्ता रुकेश तण्डुकारले जानकारी दिए । उनले १२ औ सागमा रजत पदक जितेका थिए ।

सो इभेन्टमा बंगलादेशका मो. सकायत हुसेनले रजत जिते । स्न्याचमा १२३ र क्लीन एण्ड जर्कमा १४५ गरी कुल २६८ केजी भार बहन गरे । प्रतियोगितामा भाग लिएका पाकिस्तानी खेलाडी विरामी भएका कारण भाग लिन सकेनन् ।

८१ केजी तौल समूहमा पाकिस्तानका हैदर अलिले स्वर्ण पदक जित्न सफल भए । उनले स्न्याचमा १४२ केजी र क्लीन एण्ड जर्कमा १७६ केजी गरी ३१८ केजी भार बहन गरे । त्यसै गरि भारतका अजय सिंहले स्न्याचमा १४० केजी र क्लीन एण्ड जर्कमा १७६ केजी गरी ३१८ भार बहन गरे । त्यसै गरी श्रीलंकाका भिसिजि भिडेन्सले कास्य पदक हात पारे । उनले स्न्याचमा १२८ केजी र क्लीन एण्ड जर्कमा १६० केजी गरी २८८ भार बहन गरे ।

कमेन्टहरु
Loading...