भारोत्तोलनमा दम्पत्तिलाई कास्य

पोखरा, २० मंसिर/ १३ औं साग भारोत्तोलन प्रतियोगितामा नेपालका कमलबहादुर अधिकारी दम्पत्तिले कास्य पदक हात पारेका छन् । साग भारोत्तोलनमा अघिल्लो संस्करणसम्म एकमात्र स्वर्णविजेता कमलले जारी संस्करणअन्तर्गत शुक्रबार पुरुष ६७ केजी तौल समूहमा कास्य जितेकोमा उनकी धर्मपत्नी राज्यलक्ष्मी थापाले पनि कास्य पदक नै जित्न सफल भइन् ।

शुक्रबार पोखरामा भएको महिला ७१ केजी तौल समूहमा राज्यलक्ष्मीले कास्य पदक जितेपछि साग भारोत्तोलनमा सम्भवतः दम्पत्तिलाई कास्य पहिलो पटक हो । १० औं संस्करणका स्वर्णविजेता कमल १३औं मा पुरुषतर्फ ६७ केजी तौल समूहमा कास्यमा सीमित भएका छन् ।

प्रहरीकी राज्यलक्ष्मीले स्न्याचमा ६७ र क्लीन एण्ड जर्कमा ८३ सहित कुल १५० किलो भार उठाउँदै कास्य जितेकी हुन् । यस्तै सो स्पर्धामा भारतले स्वर्ण र बंगलादेशले रजत पदक जितेको छ ।
भारतकी मनप्रित कौरले स्न्याचमा ८५ र क्लीन एण्ड जर्कमा १०७ गरी कुल १९२ किलो भार बहन गरी स्वर्ण जितेकी हुन् । बंगलादेशकी रोकेया सुल्तान साठीले स्न्याचमा ७० र क्लीन एण्ड जर्क विधामा ८५ गरी कुल १५५ किलो बहन गर्दै रजतमा सीमित बनिन् ।

उता, महिला ६४ केजी तौल समूहमा नेपालकी देवी चौधरी यसपालि पनि कास्य पदकभन्दा माथि उठन् सकिनन् । नेपाल प्रहरीमा आबद्ध उनले १२ औं संस्करणमा नेपाललाई कास्य दिलाएकी थिइन् । यसपालि उनले १५३ किलो तौल उठाउँदै कास्य जितेकी हुन् । उनले स्न्याचमा ६८ र क्लीन एण्ड जर्कमा ८५ किलो तौल उठाइन् । सो तौल समूहमा भारतले नै स्वर्ण जित्न सफल भयो ।

भारतकी राखी हल्डरले स्न्याचतर्फ ९० र क्लीन एण्ड जर्कमा ११० गरी २०० किलो उठाउँदै शीर्ष स्थानमा रहिन् । यस्तै, श्रीलंकाकी भी. हर्षिकाले रजत जितिन् । उनले स्न्याचमा ७० र क्लीन एण्ड जर्कतर्फ १०० गरी कुल १७० किलो भार बहन गरिन् । नेपालले जारी संस्करणमा हालसम्म १ स्वर्ण र ६ कास्य जितिसकेको छ । स्वर्ण पदक सञ्जु चौधरीको नाममा छ ।

कमेन्टहरु
Loading...