भारत नआउदा आर्चरीमा स्वर्णको लागि प्रतिस्पर्धामा खुला

पोखरा, ९ मंसिर / खेलाडीको अन्तिम लक्ष्य सपना स्वर्ण पदक नै हो । घरेलु मैदानमा जित्ने सम्भावना अझ बढी हुन्छ । आर्चरीमा अहिले स्वर्ण पदकको प्रतिस्पर्धाको लागि खुला भएको छ । भारतको अनुपस्थितिले बाँकी ५ देशले स्वर्ण पदकको लागि दावी गर्ने सम्भावना बराबर देखिन्छ ।

स्वर्णको दौडमा घरेलु मैदानमा नेपाली खेलाडी भन्दा एक कदम अघि भने बंगलादेशी छन् ।
दक्षिण एशियाली खेलुकद(साग)मा भारतपछिको दावेदारी टोली बंगलादेश हो । बंगलादेश पछि मात्रै नेपालको नाम अगाडि आउँछ । त्यसमा पनि भुटान र श्रीलंकाले प्रतिस्पर्धाको लागि पछ्याउँदै आएका छन् । पाकिस्तान भने अल्ली कमजोर टोलीमा चिनिन्छ । भारतको अनुपस्थितिले आर्चरीमा स्वर्णको लागि प्रतिस्पर्धा केही खुकुलो भने पक्कै भएको छ ।

घरेलु मैदानमा दुईवटा स्वर्ण पदक जित्ने आशामा प्रशिक्षक छन् । स्वर्णमा पूर्णरुपमा दावेदारी गर्न सकिने सम्भावना भने प्रशिक्षकको भनाईले नै पुष्टि गरेको छ । ‘११ औं र १२ औं सागमा नेपालले कास्य पदकमा मात्रै चित्त बुझाएको छ । अहिले घरेलु मैदानमा हुदैैं छ । त्यसैले कम्तिमा पनि दुईवटा स्वर्ण पदक जित्ने आशामा छौं ।’ आर्चरीका सहायक प्रशिक्षक बसन्त थकाली भन्छन्–‘भारत नहुदाँ सबैलाई स्वर्णको लागि सजिलो भएको छ ।’

११ औं सागमा नेपालले टिम इभेण्टमा कास्य जित्दा १२ औंमा पुरुष एकल तर्फको प्रतिस्पर्धामा प्रेम पुनले रिकर्भमा कास्य पदक दिलाउँदै आर्चरीलाई पदक विहीनबाट जोगाए । सन २०१६ मा भारतबाट झण्डा बोकेर फर्किएको नेपाली टोलीले झण्डै तीन वर्षको अन्तरमा स्वर्णको लागि घरेलु मैदानमै नेपाली खेलाडीले प्रतिस्पर्धामा उत्रिदैं छन् । अबको सातदिनपछि पोखराको मैदानमा ५० मिटर कम्पाउण्ड र ७० मिटरको रिकर्भ प्रतिस्पर्धा गर्ने छन् ।

सरकारी लगानी अनुसार स्वर्णको अपेक्षा महंगो हुन्छ । आर्चरीको लागि सरकारी लगानी शुन्यप्राय नै छ । शुन्यप्राय लगानीबाट प्रतिफलको अपेक्षा गर्नु त्यति उपयुक्त पनि हुदैन् । यद्यपी घरेलु मैदानमा खेलाडीको उत्साहले पनि दुईवटा स्वर्ण पदकको अपेक्षा भने आशा गरिएको छ । ‘सरकारी लगानी शुन्य छ । न मैदान स्तरीय छ न खेलाडीलाई प्रशिक्षण सामाग्री नै ।’ उनको भनाई थियो ।

उनका अनुसार बंगलादेशभन्दा हामी ६ वर्ष अघिसम्म अगाडि थियौं । तर अहिले बंगलादेशलाई आर्चरीमा नेपाललाई धेरै पछाडि छाडेको छ । ‘सरकारी लगानी बढी छ । खेलाडीलाई सुविधा छ । आर्चरीको एकेडेमी नै छ’ उनले भने–‘१२ वर्षको उमेरदेखि नै एकेडेमीमा राखेर बच्चाहरुलाई आर्चरी सिकाउँछन् । नेपालमा भने त्यो छैन् ।’

बंगलादेशमा आर्मीको एकेडेमी छ । एकेडेमीमा बच्चाहरुलाई सिकाईन्छ । राम्रो गर्नेलाई त्यही नोकरीको अवसर हुन्छ । नेपालमा व्यवस्थित आर्चरी ग्राउण्ड छैन् । ‘हाम्रोमा आर्चरी एकेडेमी नै छैन् ।’ कास्की जिल्ला र्आचरी संघका अध्यक्ष योगेन्द्र शेरचनले भने–‘ आवश्यक उपकरण पनि छैन् । खेलाडीले आफनै बलबुताले खेल्दै आएका छन् ।’ उनी आफैं सागमा कम्पाउण्ड तर्फको प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्ने छन् ।

उनका अनुसार पोखरामा बाहेक अन्यत्र उत्कृष्ठ मैदान नै छैन् । पोखरा रंगशालाभित्र आर्चरी मैदान निर्माणपछि पछिल्लो समय नियमित प्रशिक्षण गर्दै आएको छ । तीन वर्ष यता नियमित प्रशिक्षणले पदकको आशा गर्न सकिने भन्दै आश मार्न नहुने उनको भनाई थियो । १० स्वर्णकोलागि नेपालसहित बंगलादेश, पाकिस्तान, भुटान र श्रीलंकाले प्रतिसपर्धा गर्ने छन् ।

कमेन्टहरु
Loading...