ब्याडमिन्टनमा नेपालको निराशाजनक प्रदर्शन

पोखरा, १७ मंसिर/ तेह्रौं दक्षिण एसियाली खेलकुद अन्तर्गत मंगलबार भएको ब्याडमिन्टन प्रतियोगिताको व्यक्तिगत स्पर्धामा नेपालका दीपेश धामी, नङ्शाल तामाङ र रसिला महर्जन पहिलो चरणबाटै बाहिरिएका छन् । पोखरा रंगशालास्थित ब्याडमिन्टन कभर्ड हलमा भएको खेलमा तीनै जनाले कमजोर प्रदर्शन गर्दै पहिलो चरणबाटै बाहिरिएका हुन् ।

नेपालका दीपेश धामी पाकिस्तानका मुरद अलीसँग सोझो सेटमा पराजित भए । दीपेशले मुरदलाई २१–१५ र २१–१३ को सोझो सेट सुम्पिएका हुन् । त्यस्तै नेपालकी नङ्साल तामाङ भारतकी गायत्री गोपीचन्दसँग सोझो सेटमै पराजित भइन् । नङ्साल गायत्रीसँग २१–९ र २१–१४ को सेटमा पराजित भएकी हुन् । अर्को खेलमा नेपालकी रसिला महर्जन श्रीलंकाकी रत्नासिरी कपुरुसँग २१–१५ र २१–९ को सेटमा पराजित भइन् ।

अर्को खेलमा श्रीलंकाका दिनुका निशान परेराले बंगलादेशका मोहम्मद सल्मान खानलाई २१–१० र २१–७ को सेटमा पराजित गरे । भारतका आर्यमान टण्डनले पाकिस्तानका अवेइस जाहिदलाई १५ –२१, २१–१४ र २१–९ को सेटमा पराजित गरे ।

बंगलादेशका सिग्बत उल्लाहले भुटानका अनिश गुरुङलाई २१–१७ र २१–९ को सेटमा पराजित गरे । पाकिस्तानका पल्वाशा बशीरले मालदिभ्सका अब्दुल रज्जाक फतिमा नवाहालाई २१– र २१–११ को सोझो सेटमा पराजित गरिन् । बंगलादेशका शाल्पा अख्तरले भुटानकी सम्झना गुरुङलाई रिटायर्ड हट गरिन् ।

बंगलादेशकी एलिना सुल्तानाले भुटानकी फुन्ट्सो छोदेन थिङलाई २१–५ र २१–८ को सेटमा पराजित गरिन् । अर्को खेलमा श्रीलंकाका दिल्मी डिआसले मालदिभ्सका अमिनाथ लविहा अब्दुल रजाकलाई २१–६ र २१–१४ को सेटमा पराजित गरे ।

पुरुष युगल स्पर्धामा श्रीलंकाका दिआस अंगोडा भिडानेज र थरिन्डु डुलियोले बंगलादेशका मोहम्मद अब्दुल हामिद र गौरब सिन्हालाई २१–१५ र २१–१८ को सेटमा पराजित गरे । अर्को खेलमा पाकिस्तानका मोहम्मद अतिक र राजा मोहम्मद हसिनको जोडीले भुटानका निडुप दोर्जी र नोर्वु ड्रधुलको जोडीलाई २१–१४ र २११६ को सेटमा पराजित गरे ।

त्यस्तै भारतका कृष्णप्रसाद गंरञ्जा र ध्रुव कोपिलाको जोडीले बंगलादेशका शुभो खण्डाकर र तुसार कृष्ण रोयको जोडीलाई २१–११ र २१–१३ को सेटमा पराजित गरे । बिजेता सबै प्रिक्वाटर फाइनलमा प्रवेश गरेका छन् । खेलहरु जारी रहेका छन् ।

कमेन्टहरु
Loading...