बेलद्वारा रोनाल्डो र मेस्सीको कीर्तिमानसँग बराबरी, एकसाथ दुई रेकर्ड !

एजेन्सी, पुस ५
स्पेनिस रियल मड्रिडका वेल्स स्टार ग्यारेथ बेलले आफ्ना पूर्वसहकर्मीसमेत रहेका क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका लिओनल मेस्सीको एक रेकर्डसँग बराबरी गरेका छन् । उनले फिफा क्लब विश्वकप फुटबलमा दुई सुपरस्टारको रेकर्डसँग बराबरी गरेका हुन् ।

हाल दुबईमा जारी क्लब विश्वकपअन्तर्गत गत राति भएको सेमिफाइनल खेलमा रियलले जापानी क्लब कासिमा एन्टर्सलाई ३–० ले हरायो । सो खेलमा बेलले ह्याट्रिक गरेका थिए ।

सो गोलपछि बेल अब क्लब विश्वकपको तीन अलग–अलग संकरणमा गोल गर्ने तेस्रो खेलाडी बनेका छन् । यसअघि रोनाल्डो र मेस्सीको नाममा यो रेकर्ड थियो ।

बेलले सन् २०१४ र २०१७ पनि क्लब विश्वकपमा गोल गरेका थिए । सन् २०१८ मा पनि गोल गरेपछि बेल अब क्लब विश्वकपको तीन अलग–अलग संस्करणमा गोल गर्ने खेलाडी बनेका हुन् ।

यता, यसै सिजनको सुरुमा रियल छाडेर युभेन्टस गएका रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा छँदा र सन् २००८ तथा रियल आएपछि सन् २०१६ र २०१७ मा गरी तीन संस्करणमा गोल गरेका थिए ।

यता, मेस्सीले पनि क्लब विश्वकपमा तीन फरक–फरक संस्करणमा गोल गरेका छन् । उनले २००९, २०११ र २०१५ पनि यस प्रतियोगितामा गोल गरेका छन् ।

दोस्रो रेकर्डसँग पनि बराबरी !

यससँगै बेल क्लब विश्वकपमा ह्याट्रिक गर्ने तेस्रो खेलाडी पनि बनेका छन् । यसअघि यस प्रतियोगितामा रोनाल्डो र बार्सिलानाका लुइस स्वारेजले पनि ह्याट्रिक गरेका थिए ।

२९ वर्षीय बेलले हालसम्म क्लब विश्वकपमा ५ खेलबाट ६ गोल गरेका छन् । क्लब विश्वकपमा सर्वाधिक धेरै गोल गर्ने रेकर्ड रोनाल्डोको नाममा छ । उनले ७ गोल गरेका छन् । अब बेलले फाइनल खेलमा पनि गोल गरे उनले रोनाल्डोको रेकर्डसँग बराबरी गर्नेछन् ।

कमेन्टहरु
Loading...