बंगलादेश महिला क्रिकेटको फाइनलमा, नेपाल जित्नैपर्ने दवाबमा

पोखरा, १९ मंसिर /बंगलादेश १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटको फाइनल प्रवेश गरेको छ । मालदिभ्सलाई २ सय ४९ रनको फराकिलो अन्तरले पराजित गर्दै बंगलादेशले फाइनलमा स्थान पक्का गरेको हो ।

बिहीबार पोखरा रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ्ग गरेको बंगलादेशले पुरा २० ओभर खेल्दै २ विकेटको क्षतिमा २ सय ५५ रनको विशाल योगफल तयार पारेको थियो । बंगलादेशका दुई खेलाडीले शतक प्रहार गरे ।

प्लेयर अफ द म्याच निगार सुल्तानले अविजित १ सय १३ तथा फरगंगा हकले अविजित १ सय १० रन जोडेका थिए । ६५ बलको सामना गरेकि सुल्तानले ३ छक्का र १४ चौका प्रहार गरिन् । विस्फोटक व्याटिङ्ग गरेकि फरगंगाले मात्रै ५३ बलमा २० चौका प्रहार गरेकि थिइन् ।

मालदिभ्सयको बलिङ्गमा समा अलिले १ विकेट लिइन् । बंगलादेशका समिमा सुल्तान रनआउट भएकी थिइन् । जितका लागि २ सय ५६ रनको लक्ष्य पछ्याएको मालदिभ्सको पारी मात्रै ६ रनमा समेटियो । मालदिभ्सका समा अलिले २ तथा स्माइस र अतिमाथले १–१ रन मात्रै बनाए । दुई रन अतिरिक्त रनका रुपमा पाएका थिए । बंगलादेशको बलिङ्गमा रितु मोनी र सलमान खातुनले समान ३–३ विकेट लिए भने रबेया खान र पुजा चक्रावर्तीले पनि एक एक विकेट लिए ।

यो संगै राउण्ड रोबिनका पुरै तीन खेलमा जित हाँसिल गरेको बंगलादेश शिर्षस्थानमा रहँदै फाइनल पुगेको हो । बंंगलादेशले पहिलो खेलमा श्रीलंकालाई ७ विकेटले तथा दोश्रो खेलमा नेपाललाई १० विकेटले पराजित गरेको थियो ।

नेपाल फाइनल पुग्नका लागि अब श्रीलंका विरुद्ध शुक्रबार हुने खेल जित्नै पर्ने भएको छ । राउण्ड रोविनमा नेपाल र श्रीलंका दुवैले १ खेलमा जित तथा १ खेलमा पराजय व्यहोर्दै समान २–२ अंक जोडेका छन् । नेपाल र श्रीलंका दुवैले मालदिभ्सलाई पराजित गरेर आ–आफ्नों खातामा समान दुई अंक जोडेका हुन् । तर नेट रनरेटको आधारमा नेपाल लिगको दोश्रो स्थानमा रहेको छ ।

कमेन्टहरु
Loading...