नेपाली खेलाडी रोहित चन्द इन्डोनेसियामा ‘वर्षको उत्कृष्ट खेलाडी’ घोषित !

काठमाडौं, मंसिर २४
नेपालको राष्ट्रिय टोलीका स्टार मिडफिल्डर रोहित चन्द इन्डोनेसियामा वर्षको उत्कृष्ट फुटबलर घोषित भएका छन् । रोेहितको टिम पर्सिजा जाकार्ताले आइतबार लिग वनको उपाधि जितेसँगै रोहित पनि लिगको सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् ।

लिगले अघिल्लो साता वर्षका उत्कृष्ट खेलाडीको मनोनयन सार्वजनिक गरेको थियो । त्यसमा रोहितसँगै अन्य २ जना खेलाडीसमेत मनोनयनमा परेका थिए । मनोनयनमा रोहितँसगै पर्सबायाका ब्राजिलियन फरवार्ड डेविड डे सिल्भा र पिएसएम मकासरका डच मिडफिल्डर विलेम जान प्लम परेका थिए ।

लिगको अन्तिम खेलमा पनि रोहितले उच्च प्रदर्शन गर्दै टोलीलाई उपाधि जिताउन महत्त्वपूर्ण योगदान दिए । लिगको निर्णायक खेलमा जाकार्ताले मिट्रा कुकारलाई २–१ ले हराएर उपाधि पोल्टामा पारेको हो ।

लिगमा कूल ३१ खेलमा सहभागी भएका रोहितले ३ गोल गरेका छन् भने २ गोलका लागि पाससमेत मिलाएका छन् । रोहितलाई टोलीमा रक्षात्मक मिडफिल्डरको भूमिकामा उत्कृष्ट प्रदर्शन गरेकाले उनलाई वर्षकै उत्कृष्ट खेलाडीको अवार्ड दिइयो । जाकार्तामा रोहित मिडफिल्डको मध्यभागबाट खेल्दै आएका छन् ।

लिगको प्राविधिक समितिले लिगमा सबै हिसाबले उत्कृष्ट खेल खेल्ने खेलाडीलाई मनोनयमा राखिएको यसअघि जनाएको थियो । त्यसमा गोल संख्या मात्रै नभएर समग्रमा उच्च प्रदर्शन गर्ने खेलाडीलाई लिगको उत्कृष्ट खेलाडी घोषित गरिएको हो ।

कमेन्टहरु
Loading...