आज राति युभेन्टस र योङ ब्वाइज भिड्दै : रोनाल्डोलाई गोल संख्या बढाउने मौका

काठमाडौं, मंसिर २६
च्याम्पियन्स लिग फुटबलमा आज राति इटालियन क्लब युभेन्टस र स्वीट्जरल्यान्डको क्लब योङ ब्वाइज समूह चरणको अन्तिम खेल खेल्दैछन् । युभेन्टस अन्तिम ३२ को अन्तिम खेल खेल्न स्वीट्जरल्यान्ड पुगिसकेको छ ।

समूह ‘एच’बाट युभेन्टस र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड यसअघि नै अन्तिम १६ मा पुगिसकेका छन् । यी दुई टोलीको आज रातिको खेलपछि समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ ।

हाल अंक तालिकामा युभेन्टस १२ अंकसहित शीर्ष स्थानमा छ । १० अंक भएको युनाइटेड दोस्रो स्थानमा छ । आज राति युभेन्टसले योङ ब्वाइजसँग खेल्दा युनाइटेडले स्पेनिस भ्यालेन्सियासँग खेल्दैछ ।

आज रातिको खेलबाट दुवै टोली समूह विजेता बन्ने दौडमा छन् । त्यसका लागि युभेन्टसले योङ ब्वाइजलाई हराए समूह विजेता बन्न काफी हुनेछ भने युनाइटेडलाई समूह विजेता बन्न आफूले जितेर युभेन्टस हार्नुपर्छ ।

यता, आजको खेलमा युभेन्टसका सुपरस्टार क्रिस्टियानो रोनाल्डो सुरुआती टोलीमा उत्रिनेछन् । इटाली पुगिकन उनले युभेन्टसका कुनै पनि खेल छाडेका छैनन् । आज राति पनि उनी पहिलो रोजाइमै उत्रिने प्रशिक्षक मासिमिलानो एलेग्रीले बताएका छन् ।

रोनाल्डोका लागि आजको खेलमा गोल गर्दै गोल संख्या बढाउने मौका छ । उनले हालसम्म लिगमा १ गोल मात्रै गरेका छन् । उनले १ गोलका लागि पाससमेत मिलाएका छन् ।

यसअघि युभेन्टसको घरमा भएको पहिलो खेलमा घरेलु टोलीले ३–० ले जितको थियो । सो खेलमा पाउलो डिबालले ह्याट्रिक गरेका थिए ।

खेल आज राति नेपाली समयअनुसार मधयराति १ः४५ बजेबाट सुरु हुनेछ ।

कमेन्टहरु
Loading...