भारोत्तोलनमा नेपाललाई पहिलो रजत पदक, भुटानलाई कास्य

विशाल र सन्देश
145

पोखरा, २१ मंसिर/ १३ औं साग भारोत्तोलनअन्तर्गत नेपालले पहिलो रजत पदक जित्न सफल भएको छ । पोखरामा शनिबार भएको पुरुष ९६ केजी तौल समूहमा विशालसिंह विष्टले रजत पदक दिलाउन सफल भएका हुन् । योसँगै जारी संस्करणको भारोत्तोलनतर्फ नेपालले २ स्वर्ण, १ रजत र ९ कास्य जित्न सफल भएको छ ।

पुरुष ९६ केजी तौल समूहमा बंगलादेशका खेलाडी जाइरुल इस्लामले स्वर्ण जिते । उनले स्न्याचतर्फ १२० र क्लीन एण्ड जर्कमा १४२ गरी कुल २६२ भार उठाउँदै स्वर्ण पदक जितेका हुन् ।
रजत दिलाउने नेपाली खेलाडी विष्टले स्न्याचमा १०७ र क्लीन एण्ड जर्कमा १४० गरी कुल २४७ भार बहन गरे । १९ वर्षे विष्ट कञ्चनपुरका हुन् । चार वर्षदेखि भारोत्तोलन खेल्दै आएको बताउने उनले रजत दिलाउन सकेकोमा खुसी लागेको प्रतिक्रिया दिए ।

यस्तै, भारोत्तोलनमा पहिलो सहभागिता जनाएको भुटानले सो इभेन्टमा पहिलो कास्य जित्न सफल भयो । उसका लागि किन्ले ग्याल्सेनले कास्य पदक जितेका हुन् । उनले स्न्याचमा ८० र क्लीन एण्ड जर्कमा ९० सहित कुल १ सय ७० भार उठाउन सके । उता, पुरुष १०२ केजी तौल समूहमा नेपालका तर्फबाट सन्देश गुरुङले कास्य जिते । प्रतियोगितामा पाकिस्तानी खेलाडी उस्मान अम्जाद राठोरले स्वर्ण र बंगलादेशले रजत पदक जित्यो ।

पाकिस्तानी खेलाडीले स्न्याचमा १५० र क्लीन एण्ड जर्कमा १८० गरी कुल ३३० तौल उठाउँदै स्वर्ण जितेका हुन् । यस्तै, बंगलादेशका इस्लामले स्न्याचमा १०८ र क्लीन एण्ड जर्कमा १४२ गरी कुल २५० भार बहन गरी रजत र नेपालका सन्देशले स्न्याचमा १०० र क्लीन एण्ड जर्कमा १३५ सहित कुल २३५ उठाउँदै कास्य पदक दिलाएका हुन् । चितवन निवासी सन्देश नेपाल प्रहरीमा आबद्ध छन् । उनी आठौं राष्टिय खेलकुद प्रतियोगिताका स्वर्णधारी हुन् ।

यसअघि शनिबारकै खेलबाट नेपालले महिलातर्फ २ कास्य पदक जितिसकेको छ । नेपालको तर्फबाट तारादेवी पुन र लक्ष्मी वनले कास्य पदक जितेका हुन् ।

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...