जनप्रतिनिधिलाई एमालेको बधाई तथा सम्मान

पोखरा, २ असार/स्थानीय तह चुनावमा निर्वाचित पार्टीका जनप्रतिनिधिलाई नेकपा एमालेले बधाई तथा सम्मान गरेको छ । पार्टी प्रदेश नं. ४ स्थानीय विकास विभागले शुक्रबार एक कार्यक्रम आयोजना गरी प्रदेश अन्तर्गतका सबै जिल्लाका जनप्रतिनिधिलाई प्रमाणपत्र सहित बधाई तथा सम्मान गरेको हो ।

समारोहमा प्रदेश अन्तर्गतका महानगरपालिका सहित सबै नगरपालिका, गाउँपालिकाका प्रमुख, उपप्रमुख तथा अध्यक्ष उपाध्यक्षलाई आमन्त्रण गरिएको विभागले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि एमाले प्रदेश नं. ४ संयोजक एवं पोलिटब्युरो सदस्य किरण गुरुङले जनप्रतिनिधिलाई जनताको मन जित्ने गरी काम गर्न सुझाव दिए ।

‘चुनाव अघि पार्टीको मात्र हो तर चुनावपछि भोट नहाल्ने जनताको पनि प्रतिनिधि हो । अब एमालेको मात्र होईन ।’ गुरुङले भने– ‘हाम्रा जनप्रतिनिधिले भ्रष्टाचार गर्नेछैनन् । बदनाम हुनेछैनन् । सेवाग्राहीलाई छिटो छरितो सेवा प्रदान गरी पार्टीप्रतिको विश्वास बढाउन भूमिका खेल्नेछन् ।’

संयोजक गुरुङले प्रदेशमा नेकपा एमालेको उपलब्धि सन्तोषजनक रहेको बताउँदै अब नेकपा एमालेलाई मुलुकभर पहिलो पार्टीका रुपमा स्थापित गरी मुलुलाई समृद्ध बनाउनुपर्ने उल्लेख गरे । उनले कर्मचारीतन्त्रले लामो समयसम्म मुलुक हाँकेकाले अझै पनि कर्मचारीमा केन्द्रिकृत मानसिकता हाबी भएको बताए । उनले जनप्रतिनिधिहरु आफै स्वतन्त्र रहेको उल्लेख गर्दै यति धेरै स्थानीय तहलाई अधिकार प्रत्यायोजन कुनपनि संघीय मुलुकमा नभएको समेत ठोकुवा गरे ।

प्रदेश नं. ४ सहसंयोजक गणेश तिमिल्सिनाले पार्टीबाट टिकट पाएपछि जनताको मतले अनुमोदित भएर यो ठाउँमा पुग्नु अत्यन्त महत्वपूर्ण कुरा भन्दै पार्टीसँगै जनताप्रति पनि उत्तिकै उत्तरदायी हुनुपर्ने बताए । उनले जनतालाई दिएको बचनबद्धता पूरा गर्न, पार्टीको नीति, नियम र निर्देशनमा चल्न पनि आग्रह गरे ।

नगरपालिकाका प्रमुख मध्येबाट स्याङ्जा पुतलीबजार नगरपालिकाकी प्रमुख सीमा क्षेत्री, गाउँपालिका अध्यक्षका तर्फबाट लमजु क्होलासोथर गाउपालिका अध्यक्ष प्रेम घले, मुस्ताङ धरपझोङ गाउँपालिकाकी उपाध्यक्ष शर्मिला गुरुङले आफूहरुले भ्रष्टाचार नगर्ने प्रतिबद्धता जनाउँदै पार्टीको सहयोगको अपेक्षा गरेका थिए । विभाग संयोजक मायानाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव गुणाखर सापकोटाले गरेका थिए ।

कमेन्टहरु
Loading...