एमालेभित्र मन्त्रीका लागि दौड, कास्कीका रवीन्द्रको सम्भावना

काठमाण्डौं, १० फागुन /चुनावमा तालमेल गरेर पार्टी एकीकरणको यात्रा थालेको वाम गठबन्धन अहिले मन्त्रीपरिषद् विस्तारमा केन्द्रित छ । शीर्ष नेताहरु आफ्ना पार्टीबाट सम्भावित मन्त्रीका नामबारे आन्तरिक छलफल गरिरहेका छन् । कतिपय शीर्ष नेताहरुलाई मन्त्रीको लविङमा छन् । विशेषगरी एमालेमा अब मन्त्रीको बन्ने भन्ने चर्चा बढी हुन थालेको छ ।

विभिन्न बाहनामा पार्टीभित्रको पनि गुट बलियो बनाएका अध्यक्ष ओलीको क्याविनेटमा फरक गुटका नेताहरु पनि मन्त्रीको चर्चामा छन् । पार्टीभित्रै प्रभावशाली नेताहरुलाई मन्त्रीमा पठाउने बिषयमा छलफल चलाएका छन् । एमालेभित्र मन्त्रीका आकांक्षीहरुको दौडधुप पनि यतिबेला उत्कर्षमा छ । श्रोतका अनुसार मन्त्रिपरिषद् १५ सदस्यीय बनाउने तयारी छ ।

दुवै दलले गठन गरेको कार्यदलले छरितो मन्त्रिमण्डल बनाउन सुझाव दिएपनि दुई दर्जनभन्दा बढी सांसदले मन्त्रीको आकांक्षासहित पार्टीभित्र दबाव दिइरहेका छन् । ओलीको क्याविनेटमा एमाले महासचिव ईश्वर पोखरेल मन्त्रीका प्रमुख दावेदार हुन् । बलियो मन्त्रालय लिएर उनी सरकारमा जाने तयारी गरिरहेका छन् । पाका नेता प्रदीप ज्ञवाली पनि मन्त्रीको लाईनमा छन् । बौद्धिक नेताको छवि बनाएका ज्ञवाली प्रधानमन्त्री ओलीका विश्वासपात्र पनि हुन् । मन्त्रीका लागि चर्चामा रहेको अर्को नाम हो, योगेश भट्टराई ।

चुनावी अभियानका क्रममा ताप्लेजुङ गएका बेला एमाले अध्यक्ष ओलीले सभामा बोल्दै उनलाई मन्त्री बनाउने वचन नै दिएका थिए । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा छाएका नेता रविन्द्र अधिकारी मन्त्रीका बलिया दाबेदार हुन् । संसदीय चुनावमा ह्याट्रिक गरेर कास्कीको राजनैतिक इतिहासमा नयाँ छवी बनाएका अधिकारीलाई यसपटक सरकारमा लैजान पार्टीभित्रैबाट दवाव पुगेको बुझिन्छ । यसअघि सार्वजनिक लेखा समिति र विकास समितिको संयोजक भएर काम गरिसकेका उनलाई मन्त्री बनाउन शीर्ष नेताहरु पनि सकारात्मक देखिएका छन् ।

पश्चिम नेपालबाट सरकारमा सहभागी हुने सांसदमा चर्चाको केन्द्रमा दार्चुलाका नेता गणेश ठगुन्ना छन् । पार्टी केन्द्रिय कमिटी सदस्य रहेका उनी एमालेबाट मन्त्रीको सूचीको प्राथमिकतामा छन् । एमालेबाट मन्त्रिपरिषदमा देखिन सक्ने अर्को अनुहार हो, रघुवीर महासेठ । मधेसबाट सेठ नै प्राथमिकतामा रहेको एमालेका एक नेताले नेपाल लाइभलाई बताए । प्रदेश ७ मा कांग्रेस नेतृ आरजु देउवालाई पराजित गरेका कैलालीका नारदमुनि राना समेत मन्त्री बन्ने चर्चा छ ।

त्यस्तै, दलितबाट छविलाल विश्वकर्मा र सिन्धुपाल्चोकका शेरबहादुर तामाङ समेत मन्त्रीका लागि लबिङ गरिरहेका छन् । यस्तै, विगतमा उद्योगमन्त्री भइसकेका महेश बस्नेत पुन मन्त्री बन्न प्रधानमन्त्री ओली समक्ष निरन्तर दबाब दिइरहेका छन् भने ओली निकट मानिने काभ्रेका गोकुल बाँस्कोटा समेत मन्त्री बन्ने चर्चा एमालेभित्र छ ।

कमेन्टहरु
Loading...