एमाले र माओवादी पार्टी एकिकरण, नयाँ नाम नेपाल कम्युनिष्ट पार्टी

काठमाडौं, ३ जेठ /नेपालका दुई ठुला कम्युनिष्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्रले मिलेर ‘नेपाल कम्युनिष्ट पार्टी’ को स्थापन गरेका छन् । नयाँ पार्टीमा केपी शर्माओली र पुष्पकोमल दाहाल अध्यक्ष हुनेछन्।

पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल र झलनाथ खनाल पार्टीका बरिष्ठ नेता हुनेछन्। कम्युनिष्ट पार्टीको ९ सदस्यीय केन्द्रीय कार्यालय पनि बिहीबारै गठन भएको छ। ४५ सदस्यीय स्थायी समिति हुने कम्युनिष्ट पार्टीमा ४४१ जना केन्द्रीय सदस्य हुने छन्।

एमालेका तर्फबाट २४१ र माओवादी केन्द्रका २०० जना मिलाएर नयाँ केन्द्रीय समिति बनेको हो। त्यस्तै एमालेका २६ र माओवादीका १९ जना सम्मिलित ४५ सदस्यीय स्थायी समिति बनेको छ। शीर्ष ९ नेता सम्मिलित केन्द्रीय कार्यालय बनाइएको छ। केन्द्रीय कार्यालयमा रहने ९ नेताको वरीयता पनि टुंगो लागेको छ।

बिहीबार ६ बुँदे घोषणापत्र एकता जारी गर्दै नेताहरुले आफूहरुको लक्ष्य जनतालाई सुखी र समृद्ध बनाउनु भएको बताएका छन् । पार्टीमा दुई अध्यक्ष ओली र प्रचण्ड रहनेछन् । कार्यकारी अधिकार दुबै अध्यक्षमा हुनेछ ।

त्यसपछिको वरियतामा माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल हुनेछन् । श्रेष्ठलाई प्रवक्ता र पौडेललाई महासचिवको जिम्मेवारी दिइएको छ ।

कमेन्टहरु
Loading...