पार्टी एकतालाई अघि बढाएर मात्र ओली थाइल्यान्ड जाने

काठमाडौं, २४ पुस /नेकपा एमाले र माओवादी केन्द्रले पार्टी एकतालाई मूर्त रूप दिन दुई छुट्टाछुट्टै कार्यदल बनाएर ठोस गृहकार्य गर्ने भएका छन् । वाम गठबन्धनका प्रमुख नेता केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच कार्यदलको गृहकार्यपछि एकतालाई अन्तिम रूप दिने आइतबार समझदारी भएको हो । आजको नयाँ पत्रिकामा खबर छ ।

आइतबार ओलीनिवास बालकोटमा दुई नेताबीच एक सातापछि डेढ घन्टा छलफल भएको छ । पछिल्लोपटक ओली र प्रचण्डबीच १६ पुसमा प्रचण्डनिवास खुमलटारमा एकता केन्द्रित रहेर छलफल भएको थियो । नयाँ सरकारको नीति तथा कार्यक्रम तय गर्ने विषयमा पनि एकता संयोजन समितिमा छलफल गर्ने दुई नेताको समझदारी छ ।

पार्टी एकतालाई अन्तिम रूप दिन सैद्धान्तिक–वैचारिक र सांगठनिक एकता संयुक्त कार्यदल बनाउने समझदारी भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जानकारी दिए । ‘संयुक्त कार्यदलले गर्ने गृहकार्यका आधारमा अन्तिम टुंगोमा पुगिनेछ,’ भेटवार्तापछि प्रचण्डले सञ्चारकर्मीहरूसँग भने ।

दुवै कार्यदलमध्ये एउटाले एकीकृत पार्टीका लागि सैद्धान्तिक–वैचारिक खाका तयार पार्नेछ भने अर्कोले केन्द्रदेखि तल्लो तहसम्मका दुवै पार्टी कमिटीको समायोजन र भ्रातृसंगठनहरूको समायोजनको मोडालिटी बनाउनेछ ।

‘दुवै पार्टीबाट मिलाएर सानो टिम रहेको कार्यदल बनाउने समझदारी भएको छ,’ ओलीका प्रेस संयोजक चेतन अधिकारीले भने, ‘कार्यदलमा रहने सदस्यहरूको नाम दुवै पार्टीले आन्तरिक बैठकमार्फत टुंगो लगाउनेछन् ।’

एकता संयोजन समितिबाट कार्यदल गठन भएलगत्तै एमाले अध्यक्ष ओली नियमित स्वास्थ्य उपचारको सिलसिलामा २६ पुसमा थाइल्यान्ड प्रस्थान गर्दै छन् । बैंककस्थित बुमरुङगार्ड अस्पतालमा स्वास्थ्य परीक्षणपछि ओली एक सातापछि स्वदेश फर्किनेछन् ।

ओली एक साता अस्वस्थ रहेका कारण दुई नेताबीच औपचारिक भेटघाट नभए पनि नियमित टेलिफोन संवाद भइरहेको थियो । २० पुसमा गृहजिल्ला चितवन गएका प्रचण्ड काठमाडौं फर्किएलगत्तै दुई नेताबीच संवाद भएको हो । एकता प्रक्रियाका विषयमा विभिन्न मोडालिटीमा छलफल गर्दै आएका ओली र प्रचण्ड आन्तरिक गृहकार्यपछि संयुक्त कार्यदल बनाउने निष्कर्षमा पुगेका छन् ।

ओलीले यसबीचमै नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल, निकट नेताहरू सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेललगायतसँग सुझाब लिएका थिए । त्यस्तै, प्रचण्डले पनि नेताहरू नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, कृष्णबहादुर महरा, जनार्दन शर्मालगायतसँग अनौपचारिक छलफल गरेका थिए ।

कार्यदलले एकताको सैद्धान्तिक र सांगठनिक मोडालिटी तयार पारेपछि मात्रै सरकार र पार्टीको नेतृत्वबारे अन्तिम टुंगो लगाउने भएको छ । एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्ने करिब निश्चित भए पनि पार्टी नेतृत्व कसरी टुंग्याउनेबारे दुई नेताबीच निरन्तर संवाद चल्दै आएको छ ।

सैद्धान्तिक र वैचारिक तथा सांगठनिक एकताको ‘मोडालिटी’का विषयमा दुवै पार्टीका दोस्रो तहका नेताहरूबीच पनि अनौपचारिक छलफल चलिरहेको छ । एमालेबाट विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा, वर्षमान पुनलगायत नेताहरूले अनौपचारिक तहमा ‘मोडालिटी’का विषयमा अनौपचारिक छलफल चलाउँदै आएका छन् ।

यद्यपि, अनौपचारिक छलफलकै विषयलाई कार्यदलमार्फत अन्तिम रूप दिएर एकता संयोजन समितिबाट अन्तिम टुंगो लगाउने नेताहरूको समझदारी छ । पार्टी एकता र समसामायिक राजनीतिक विषयमा छलफल गर्न दुवै दलले सोमबार स्थायी समिति बैठक बोलाएका छन् । आइतबार दुई नेताबीच भएको समझदारी र संयुक्त कार्यदलका विषयमा दुवै पार्टीका अध्यक्षले स्थायी समितिमा ‘ब्रिफिङ’ गर्ने तयारी गरेका छन् ।

कमेन्टहरु
Loading...