नयाँशक्ति पार्टीको केन्द्रीय सदस्य नेकपामा प्रवेश

पोखरा, ८ मंसीर/ नयाँ शक्ति पार्टीका केन्द्रीय परिषद सदस्य नारायणहरी तिवारी सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । गत वर्ष भएको संसदीय निर्वाचनमा कास्की क्षेत्र नम्बर १.१ का उम्मेद्वारसमेत रहेका तिवारी शनिबार नेकपामा प्रवेश गरेका हुन् ।

उनलाई नेकपा जिल्ला संयन्त्र कास्कीका सदस्य बखानसिंह गुरुङ ‘आभाष’ले खादा लगाएर स्वागत गरे । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघबाट राजनीति शुरु गरेका उनी २०७२ सालमा नयाँशक्तिमा प्रवेश गरेका थिए ।

तिवारी २०६२ सालदेखी २०७२ सालसम्म नेपाल तरुण दल कास्कीका उपाध्यक्ष रहेर काम गरेका थिए । लेखनाथका कांग्रेस युवा नेता रामजी बादलको हत्याका बेला उनलाईपनि मरणासन्न हुनेगरी कुटपीट गरेर झाडीमा फालेका थिए । बेहोस् अवस्थामा भेटिएका उनी पछि उपचारपश्चात स्वस्थ भएका थिए ।

पार्टी प्रवेश गराउँदै नेकपाका नेता बखानसिंह गुरुङ ‘आभाष’ले समृद्धीको यात्रामा सहयात्रा गर्न आएका तिवारीलाई स्वागत गर्न पाएकोमा खुशी व्यक्त गरे । उनले जनताको मुक्ति र समृद्धीको सपना नेकपाले मात्र पूरा गर्न सक्ने बताए । उनले पार्टी प्रवेश गरेका तिवारीलाई उचित जिम्मेवारी दिने आश्वासनसमेत दिए ।

कार्यक्रममा पार्टी प्रवेश गरेका नारायणहरी तिवारीले नयाँशक्ति विलयको बाटोमा गएकाले जनताको आशा भरोसाको केन्द्र नेकपामा प्रवेश गरेको बताए ।

नेकपा कास्कीका कार्यालय सचिव शिवबहादुर बरालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका नेताहरु दीलिप न्यौपाने, गोकर्ण अधिकारी लगायतले पनि बोलेका थिए ।

कमेन्टहरु
Loading...