राष्ट्रिय हित विपरित सम्झौता हुँदैन ः मन्त्री राई

पोखरा, ६ फागुन /सूचना तथा सञ्चार मन्त्री शेरधन राईले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण दुई देशबीचको चिसोपन र असमझदारीे अन्त्य गर्नमा नै बढी केन्द्रित हुने बताएका छन् ।

राष्ट्रिय हित विपरित सम्झौता हुँदैन ः मन्त्री राई
राष्ट्रिय हित विपरित सम्झौता हुँदैन ः मन्त्री राई

प्रेस चौतारी कास्कीले बिहीबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा राईले नेपाल र भारतबीच विगतमा विकास आयोजनामा भएको सम्झौतालाई कार्यान्वयन गर्न र आपसी विश्वासको आधार बनाएर दुई देशको सम्बन्ध सुदृढ बनाउने बताए ।

प्रधानमन्त्रीको भ्रमणबाट राष्ट्रको हितविपरीत तल माथि हुनेगरी केही काम नहुने विश्वास दिलाउँदै मन्त्री राईले भारत भ्रमण सकेलगत्तै प्रधानमन्त्रीले छिमेकी मित्रराष्ट्र चीनको पनि भ्रमण गरी दुई देशबीच व्यापार तथा पारवाहन र इन्धनलगायत ऐतिहासिक सम्झौता हुने बताए ।

सरकारका प्रवक्ता समेत रहनुभएका राईले संविधान निर्माणपछि देश अब आर्थिक समृद्धितर्फ अगाडि बढेकोले दिगो विकासलाई प्राथमिकतामा राखेर सरकारले नीति कार्यक्रम बनाउने बताए । उनले अबको दुई वर्ष भित्र ऊर्जा संकटलाई समाधान गर्ने योजना सरकारले ल्याउने बताए । ‘दुई वर्षमा ऊर्जा संकट समाधान गर्ने गरी सरकारले योजना बनाएको छ,’ उनले भने, ‘प्रधानमन्त्रीको भारत भ्रमणपछि सबै जनताले बुझ्ने गरी योजना सार्वजनिक गरिनेछ ।’

देशको विकास, समृद्धि र सुशासन कायम गर्ने गरी सरकार निरन्तर अघि बढेको धारणा राख्दै सूचना तथा सञ्चार मन्त्री राईले सरकार आफ्नो विकासको यात्रामा अलमल नगरी अघि बढेको छ बताए । कार्यक्रमा प्रेस चौतारी नेपाल कास्कीका अध्यक्ष माधव बराल, उपाध्यक्ष रामजी लम्साल सचिब अर्जन गिरी कार्यक्रम सञ्चालन गरेको थिए ।

कमेन्टहरु
Loading...