उपमेयरका स्वतन्त्र उमेद्वार सिरोज विजय कोइरालालाई ११ प्रश्न

उनले यस स्थानिय निर्वाचनमा पोखरा लेखनाथ महानगरपालिकाको उपमेयर पदमा स्वतन्त्र उमेदवारी दिएका छन् । उनको उमेदवारी अहिले पोखरा लेखनाथ महानगरपालिकामा चर्चाको विषय बनेको छ । उनैसँग हामीले ११ प्रश्न राखेका थियौं ।

Siroj Bijaya Koirala Deputy Mayoral Candidate Pokhara Lekhnath Metropolitan City.jpg
Siroj Bijaya Koirala Deputy Mayoral Candidate Pokhara Lekhnath Metropolitan City

१. उपमेयर भएर तपाईले बाचा गरेका काम गर्न सम्भव छ ?

छैन । सहज तरिकाले सम्भव छैन । हाम्रो काम गर्ने सिस्टम हाम्रै राजनितीक दलको दलदलभित्र गाडिएको छ । मलाई प्रष्ट थाहा छ । यस पोखरा लेखनाथ महानगरपालिका र यस शहरमा बस्ने हामी सबैका लागि मैले बुनेका योजना एवं सपनाहरुको कार्यान्वयन गर्न उपमेयर भएर सहज छैन । र पनि सम्भव छ । मैले चुनौतिहरुको अन्दाज पनि गरिसकेको छु तर तिनै चुनौतिहरुलाई चुनौति दिन नै त मैले यो साहस गरेको हुँ । मलाई थाहा छ उक्लनै नसकिने कुनै त्यस्तो पहाड हुँदैन । बस् स्वयंसँग दृढ इच्छाशक्ति र इमान्दारी हुनुपर्छ । र मेरा योजना तथा सपना त्यति महत्वाकाँक्षी पनि छैनन् तर महत्वपुर्ण छन् ।

२. मेयरमा किन उमेदवारी नदिनुभएको ?

यो मेरो एकल निर्णय होइन । मेरो समुहले गरेको निर्णय हो यो । कतिपय सोध्नुहुन्छ तँपाईले चाहेको मेयर को हो ? मैले चाहेको उपमेयरम हुँ । पोख्रेलीहरुको विवेकले चुनेकोजुनसुकै मेयरसँग पनि काम गर्न तयार छु । हो, पोखराको नयाँ रुप जो मैले बुनेको छु यो एउटा मेयरले देख्ने र बुन्ने योजना हो । तर उपमेयरले यो सपना देख्नु नै हुँदैन भन्नु गलत हो । यहाँबाट सुन्दर, समृद्ध, स्वस्थ, सुरक्षित र सुव्यवस्थित पोखरा निर्माणको आफ्नो एउटा लामो यात्राको शुरुवात गरेको छु । उपमेयरबाट नै काम गर्न सक्छु भन्ने विश्वास छ, यहि उचीत हो भन्ने कुरामा पनि स्पष्ट छु । उपमेयरकै आफ्ना कर्तव्य, दायित्व र अधिकार पनि छन् । तिनको सदुपयोग गरेकै भरमा पनि मैले मेरा योजनाहरुको कार्यान्वयन गर्न सक्छु भन्ने कुरामा म विश्वस्त छु ।

३. तँपाईलाई भोट किन दिने ?

भोट मात्रै नदिनुस् । पोखरा स्वस्थ,सुन्दर, सुव्यवस्थित, सुरक्षित र समृद्ध हुनुपर्छ भन्ने तँपाईलाई पनि लाग्छ भने मात्रै मलाई भोट दिनुहोस् । मैले तँपाईहरुसँग मेरा योजनाहरु सार्वजनिक गरेकै छु । तीमध्ये कुनैपनि योजना गलत लाग्छ भने मलाई भोट नदिनुहोस् । यदी तँपाई र मेरा सपना साझा छन् भने यसपटक कृपया झन्डा र पार्टी बिर्सिदिनुहोस् । मलाई तँपाईले दिनुभएको हरेक मत खेर नजाने विश्वास दिलाउन चाहन्छु । मलाई भोट दिनुहोस् किनकी म एक स्वतन्त्र उमेदवार हुँ जसको दलीय दलदलसँग कुनै चासो छैन ।

मलाई यसर्थ भोट दिनुहोस् कि मसँग यस पोखरालाई झन् राम्रो पोखरा बनाउने योजना र त्यसको कार्यान्वयन कसरी गर्ने भन्ने दुवै विषयमा म प्रष्ट छु । मलाई भोट हाल्नुस् किनकी पोखरा र पोख्रेलीको समस्याका बारेमा म स्पष्ट छु । उपमेयर पदमा मलाई भोट नगरिकन अन्य कसैलाई भोट हाल्दा कृपया एकपटक तुलनात्मक अध्ययन पनि गरिदिनुहुनेछ भन्ने आश पनि व्यक्त गर्दछु ।

४. पोखराका प्रमुख ३ समस्या भनिदिनुस न ।
हामी यस्तो शहरमा छौं जसको सम्भावना प्रचुर छ र समस्याहरुको चांग लागेको छ । नं एकमा सोध्नुहुन्छ भने शुद्ध पिउने पानी हाम्रो एक नं समस्या हो जसले वर्षौंदेखी हाम्रो र हाम्रा बालबालिकाहरुको स्वास्थ्यमा प्रतिकुल प्रभाव पारिरहेको छ । हामी खानेपानी होइन खोलाको पानी पिइरहेका छौं । नं २, सुन्दर शहर योजनाका अभावमा हावि भैरहेको अव्यवस्थित शहरिकरण जसले यस शहरलाई अव्यवस्थित, असुरक्षित एवं कुरुप बनाउँदै लगिरहेको छ । नं ३, यहाँ शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई एवं आवास हरेक चीजमा समस्या छ । हर एक समस्याको समाधान पनि छ । कानून लेखिएर मात्रै हुँदैन यसको कार्यान्वयन पनि हुन जरुरी छ ।

५. तँपाई हाम्रा सडकमा छरपस्ट खम्बा एवं तारहरुलाई व्यवस्थित बनाउछु भनेर सपना बाँडिरहनुभएको छ । यो काम नगरपालिकाको काम हो र ?

यो समस्याले साँच्चिकै पोखराको सुन्दरतालाई चुनौति दिएको छ । आफू बस्ने शहर कस्तो बनाउने, कस्तो शहरमा बस्ने भन्ने रोजाई हामी नगरवासीहरुकै रोजाई हो । तपाईहरुले चाहनुभयो भने यो सम्भव छ । म तपाईहरुकै मतको आवाज हो । यो काममा हाम्रा स्थानिय प्रतिनिधीहरुमार्फत सम्बन्धित संस्थाहरुसँग आजसम्म पहल गरिएको छैन । यो बहशको विषय नै हुन पाएको छैन । र यो विल्कुल तपाई हाम्रो चाहनामा भर पर्ने विषय हो । हामी नगरबासीको समस्या समाधान गर्नका लागि, हाम्रा चाहनाहरुको सम्बोधन हुनका लागि कहिलेसम्म कसको मुख ताकेर बसिरहने ?

६. तपाईलाई काँग्रेसको असन्तुष्ट पक्षले बागि उमेदवारी दिन लगाएको भन्ने आरोप छ नि

यो सरासर गलत हो । मैले कहिल्यै कांग्रेसको कुनैपनि आन्तरिक निर्वाचनमा सहभागिता जनाएको छैन । र कांग्रेसले प्रतिनिधित्व गरेको कुनै पनि निर्वाचनमा मैले उमेदवारको रुपमा कहिल्यै पनि प्रतिनिधित्व गरेको छैन । कांग्रेस पार्टीले मतदाताहरुमा भ्रम फैलाउन मलाई बागिको रुपमा प्रस्तुत गरेको छ । यसमा सबै नगरबासीलाई सजग र स्पष्ट रहन म अनुरोध गर्दछु । राजनितीक रुपमा कांग्रेससँग मात्रै होइन अन्य कुनै पनि पार्टीसँग मेरो राजनितीक साँठगाँठ छैन । म पार्टीविहिन पोखरा लेखनाथ महानगरपालिकाको स्वतन्त्र नागरिक उमेदवार हुँ ।

७. तँपाई पत्रकार पनि हो । एक आध्यात्मीक व्यक्ति पनि हो । एउटा पत्रकारले र अध्यात्ममा लागेको व्यक्तिले राजनिती गर्न हुन्छ ?

म कुनै राजनितीक व्यक्तित्व होइन । र मैले राजनिती गर्ने उद्देश्यले उमेदवारी दिएको पनि होइन । म यो शहरको जिम्मेवार नागरिक हुँ । यो शहरको सुन्दर भविष्य बनाउन मैले उमेदवारी दिएको हुँ ।

८. तँपाईलाई सुकुम्बासीहरुले आफ्नो समस्याको समाधानको आशको रुपमा हेरेका छन् । खासमा के गर्न खोज्नुभएको हो ?

मेरो स्पष्ट योजना छ । म उहाँहरुलाई प्रेम र सम्मान गर्छु । हाम्रो शहरमा कुनै पनि सुकुमबासीको बास हुनु हुँदैन । हरेकको व्यवस्थित बसोबास हुनुपर्छ । हाम्रो समुहले व्यवस्थित बस्तिको डिजाइन गरिसकेको छ ।

९. यहाँको यातायातलाई कसरी हेर्नुभएको छ ?

हाम्रो महानगरपालिकामा म्युनिसिपल बस एवं ट्राम चलाउन अत्यावश्यक छ । हाम्रो शहरको हरेक सडकमा यात्रु एवं साइकल यात्रीका लागि उचित व्यवस्था गर्न पनि उत्तिकै जरुरी छ । यहाँको ट्राफिक व्यवस्थापन भद्रगोल छ जसलाई वैज्ञानिक रुपमा सुधार गर्न आवश्यक छ ।

१०. पोखराको पर्यटनमा नयाँ गर्छु भनिरहनु भएको छ । खासमा तँपाईले गर्न खोजेको नयाँ चैं के हो ?

नं एक, पोखरा पर्यटनको अथाह सम्भावना भएको शहर हो । तर यहाँको पर्यटनको हब मानिने लेकसाइड नै रातको ११ बजे बन्द हुन्छ । यसलाई २४ घण्टा नै खुलाउनु पर्ने छ । नं दुई, यहाँको पर्यटन एक ठाउँ केन्द्रित भएको छ । तर यसको फैलावट सम्भव छ । हाम्रो शहरमा नेपालको सम्पुर्ण पर्यटन थेग्ने गरि पुर्वाधारहरुको निर्माण गर्न जरुरी छ । अध्यात्म र योग यहाँको पर्यटनसँग जोड्नै पर्छ । यहि मेरो नयाँ कुरा हो । र म स्वयंले यसका लागि आफ्नो तर्फबाट काम शुरु गरिसकेको छु । यहाँ साहसिक पर्यटन प्रवद्र्धन जति हुनु पर्ने हो त्यति भएकै छैन जो गर्नै पर्ने छ । पर्यटन प्रवद्र्धन गरि कोही पनि बेरोजगार रहन नपर्ने काम गर्न सम्भव छ । खेलकुद पर्यटन पोखराका लागि यति लोभलाग्दो सम्भावना बोकेको चीज हो कि सम्झँदा मात्रै पनि रहरलाग्दो लाग्छ । एउटा होइन आधा दर्जन अन्तराष्ट्रिय स्तरको फुटबल एवं क्रिकेट मैदान बनाउन आवश्यक छ । यहाँको प्राकृतिक सौन्दर्यको उचित प्रयोग त्यतिबेला हुन्छ ।

११. स्वस्थ पोखरा मुख्य एजेन्डा भनिरहनुभएको छ । के हो त्यो ?

एउटा पानी हो । अर्को हरेक वडामा नियमित योगशिविर हो । र अर्को फोहोरको उचित व्यवस्थापन हो ।

कमेन्टहरु
Loading...