समानुपातिक तर्फको मतगणना सकियो (कुन दलले कति सिट पाए हेर्नोस् )

काठमाडौं,  २ पुस / गत​ मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणाली तर्फको मतगणना सकिएको छ ।निर्वाचन आयोगका अनुसार ९५ लाख ४४ हजार ७ सय ४१ मत सदर भएको छ भने ३१ लाख ७३ हजार ४ सय ९४ मत सहित , नेकपा एमाले पहिलो दल बनेको छ । दोस्रो दल बनेको नेपाली कांग्रेसले ३१ लाख २८ हजार ३ सय ८९ मत पाएको छ । एमालेले कांग्रेस भन्दा ४५ हजार १ सय ५ मत बढी पाएको छ ।

यस्तै नेकपा माओवादी केन्द्रले १३ लाख ३ हजार ७ सय २१ मत पाएको छ भने थ्रेस होल्ड पार गरेका राष्ट्रिय जनता पार्टी नेपालले ४ लाख ७२ हजार २ सय ५४ र संघीय समाजवादी फोरम नेपालले  ४ लाख ७० हजार २ सय १ मत पाएका छन् ।प्राप्त अन्तिम​ मत परिणाम अनुसार विवेकशील साझा पार्टीले २ लाख १२ हजार ३ सय ६३ र राप्रपाले १ लाख ९६ हजार ७ सय ८२ मत पाएका छन् ।राप्रपा प्रजातान्त्रिकले ८८ हजार ३ सय ७७, नयाँ शक्तिले ८१ हजार ८ सय ३७ र राष्ट्रिय जनमोर्चाले ६२ हजार १ सय ३३ मत पाएका छन् ।

मतगणना सकिएपनि निर्वाचन आयोगले अन्तिम मत परिणाम सार्वजनिक गरेको छैन । यो जिल्ला निर्वाचन कार्यालयहरुले इन्ट्री गरेको मतमा आयोग केन्द्रीय कार्यालयको टिमले भेरिफाइ गरिरहेको छ ।यो सकिएपछि मात्र आयोगले औपचारिक रुपमा कुन दलले कति मत पायो भनेर जानकारी गराउने निर्वाचन आयोग प्रवक्ता नवराज ढकालले जानकारी दिए ।प्रतिनिधिसभाको समानुपातिकमा ३ प्रतिशत थ्रेसहोल्ड छ ।कुल सदर मतको ३ प्रतिशत अर्थात २ दाख ८६ हजार ३ सय ४२ मत नपाएका दलहरुले समानुपातिक सिट पाउने छैनन् ।

दलहरूले प्राप्त गरेको मत अनुसार प्रतिनिधिसभामा समानुपातिक तर्फको कुल १ सय १० सिटमा नेकपा एमालेले ४१, नेपाली कांग्रेसले ४०, नेकपा माओवादी केन्द्रले १७, संघीय समाजवादी फोरम नेपालले ६ र राष्ट्रिय जनता पार्टीले ६ सिट पाउने सम्भावना देखिएको छ । उल्लिखित सिट संख्यामा सामान्य मात्र हेरफेर हुन सक्ने आयोग स्रोतले जनाएको छ ।नयाँ दल विवेकशील साझा समानुपातिक तर्फ छैटौं स्थानमा रहे पनि थ्रेस होल्ड पार गर्न सकेन भने दोस्रो संविधानसभामा समानुपातिक तर्फ २४ सिट पाएको राप्रपा पनि यो पटक​ थ्रेस होल्ड पार गर्न असफल भ​एको छ​ ।

पशुपति शम्शेर राणाको राप्रपा प्रजातान्त्रिक, डा. बाबुराम भट्टराईको नयाँ शक्ति र चित्र बहादुर केसी नेतृत्वको जनमोर्चा र नारायणमान विजुक्छे नेतृत्वको नेमकिपा पनि थ्रेस होल्डका कारण समानुपातिकमा सिट पाउन असफल भ​एका छन् । प्रतिनिधिसभामा भने प्रत्यक्ष तर्फ नेकपा एमालेले ८०, नेकपा माओवादी केन्द्रले ३६, नेपाली कांग्रेसले २३, राजपाले ११, संघीय समाजवादी फोरमले १०, नयाँ शक्ति पार्टी, नेपाल, राप्रपा, नेमकिपा, राष्ट्रिय जनमोर्चा र स्वतन्त्रले एक-एक सिट जितेका छन् ।

कमेन्टहरु
Loading...