मंगलबारदेखि समानुपातिक निर्वाचन प्रणालीको मतपत्र छापिने

काठमाडौं,  १६ असोज/निर्वाचन आयोगले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ मंगलबारदेखि शुरु गर्ने भएको छ । मतपत्र छपाइको व्यवस्थापन गर्न निर्वाचन आयोगबाट जनशक्ति खटिइसकेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । मतपत्रको छपाइ कडा सुरक्षा घेरामा भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेड​मा हुनेछ ।

एउटै मतपत्रको माथिल्लो खण्डमा प्रतिनिधिसभा र तल्लो खण्डमा प्रदेशसभा सदस्य निर्वाचनका चुनाव चिह्न रहनेछन् ।निर्वाचनका लागि मतदाताको संख्या यकिन भइनसके पनि समानुपातिक निर्वाचन प्रणालीका लागि हल्का रातो रङको झण्डै एक करोड ८० लाख मतपत्र छापिनेछ ।आयोगले मतदाताको संख्या केही दिनभित्रै यकिन हुने जनाएको छ ।

समानुपातिक निर्वाचनमा भाग लिने राजनीतिक दलले उम्मेदवारको बन्दसूची यही असोज २९ गते पेस गर्नुपर्ने गरी यसअघि नै आयोगबाट निर्वाचन कार्यक्रम प्रकाशन भइसकेको छ ।प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दललाई आयोगले निर्वाचन चिह्न निर्धारण गरिसकेको छ ।समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेशसभा सदस्य निर्वाचनमा प्रदेश नं १ मा ८७, प्रदेश नं २ र ३ मा ८६–८६, प्रदेश नं ४ र ६ मा ८२–८२, प्रदेश नं ५ मा ८४ र प्रदेश नं ७ मा ८३ राजनीतिक दलले प्रतिस्पर्धा गर्ने छन् ।

प्रदेशसभा सदस्य निर्वाचनमा सम्बन्धित प्रदेशमा राजनीतिक दलको सहभागितानुसार आयोगले सात प्रकारका मतपत्रको व्यवस्थापन गर्नेछ ।समानुपातिकतर्फको मतपत्रको छपाइ आगामी कात्तिक ८ गतेभित्र पूरा हुनेछ । त्यसलगत्तै प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फको निर्वाचनको मतपत्रको छपाइको काम शुरु गरिने आयोगको कार्यतालिका छ ।स्थानीय तहको निर्वाचनको अनुभवका आधारमा आयोगले आगामी निर्वाचनमा मतदातालाई सहज हुने छरितो तथा मतदातामैत्री मतपत्रको ढाँचा तयार पारेर स्वीकृतसमेत गरिसकेको प्रवक्ता ढकालले जानकारी दिए ।

मतपत्रका लागि आयोगले ६०० टन कागजको व्यवस्थापनसमेत गरिसकेको जनाइएको छ ।आगामी निर्वाचनमा आवश्यक पर्ने ६४ प्रकारका निर्वाचन सामग्रीको व्यवस्थापन, तालीम, प्रशिक्षण र खटनपटनलगायत कार्यलाई आयोगले तीव्रता दिएको छ ।आयोग निर्वाचनसँग सम्बन्धित नियमावली र निर्देशिका तर्जुमाको अन्तिम तयारीमा जुटेको छ ।आगामी निर्वाचनमा सुरक्षा फौजबाहेक दुई लाखको हाराहारीमा जनशक्ति परिचालन हुने जनाइएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न राजनीतिक दलसँग घनीभूत रुपमा छलफल गर्ने कार्ययोजना छ ।मंसिरमा हुने निर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ १६५ तथा समानुपातिक निर्वाचन प्रणालीबाट ११० सदस्य तथा प्रदेशसभामा प्रत्यक्षतर्फ ३३० र समानुपातिक प्रणालीबाट २२९ जना चयन हुनेछ ।

 

 

कमेन्टहरु
Loading...