राप्रपा नेपाल कास्कीका उम्मेदवार चुनावी अभियानमा

पोखरा, २८ कात्तिक /संविधानसभाको निर्वाचन नजिकिदैँ जाँदा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल कास्कीले पनि आफ्नो चुनावी अभियानलाई तिब्र बनाएको छ । घरदैलोमा निस्किएका कास्कीका ४ वटै क्षेत्रका उम्मेदवारलाई स्थानीयवासीले भव्य रुपमा फूलमाला र खादाले स्वागत गरेका हुन् । घरदैलोमा उत्साहित हुँदै स्थानीयवासीहरुले अन्य दलले धर्म र राष्ट्रियता बेचेर नेपाललाई बेचेको आरोप लगाएका थिए । नेपालीहरुको पहिचान बोकेको राष्ट्रवादी पार्टी राप्रपा नेपाल नै भएको भन्दै उनीहरुले गाई चिन्हमा मतदान गरी राप्रपा नेपाललाई जिताउने प्रतिबद्धता दिएका थिए ।
क्षेत्र नं. २ अन्र्तगत पोखरा १ र ३ मा घरदैलो कार्यक्रम सम्पन्न भएको प्रचारप्रसार सहसंयोजक गीता गुरुङले जानकारी दिइन । बगर, सिम्पानी, हरिचोक लगायतका स्थानमा घरदैलो तथा कोणसभा सम्पन्न भएको हो ।

कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार जयलाल पुनले देशलाई दलदलबाट निकास दिने या नदिने भन्ने कुरा जनताको हातमा भएको बताए । निर्वाचनमा फेरि पनि ठूला दललाई जिताए संविधान नबन्ने र देशले निकास नपाउने उनको तर्क छ । नेपाली माटो सुहाउँदो शासकिय स्वरुप बोकेको पार्टी राप्रपा नेपाल नै भएकाले यसले मात्र देशको धर्म, जातीय सद्भाव तथा संस्कृति जोगाउने उम्मेदवार पुनको भनाइ थियो ।
क्षेत्र नं. ३ अन्र्तगत तीनगाउँले थकाली समाज, शिवालयचोक, चोरसाँघु, पुरानोबसपार्क, महेन्द्रपुल, चिप्लेढुंगा, मालेपाटन लगायतका ठाउँमा घरदैलो कार्यक्रम सम्पन्न भएको मिडिया संयोजक निर्मल पराजुलीले जानकारी दिए ।

घरदैलोमा उम्मेदवार प्रेम मल्ललाई स्वागत गर्दै स्थानीयवासीले जुन पार्टीले राष्ट्रियता, धर्म र संस्कृतिलाई बचाउँछ त्यही पार्टीलाई नै विजयी गराउने प्रतिबद्धता दिएका थिए । स्थानीयवासीको स्वागत ग्रहण गर्दै उम्मेदवार मल्लले देशलाई निकास दिने अन्तिम मौका यही भएकाले जनताले सोच विचार गरेर भोट हाल्नुपर्ने बताए । ठूला दल असफल भइसकेको र अन्य जातीय पार्टीले जातीय द्वन्द्व भड्काउने भएकाले देशलाई जोगाउनको लागि राप्रपा नेपाललाई जिताउनुपर्ने मल्लले बताए । यता क्षेत्र नं. १ का उम्मेदवार भीमसेन गुरुङ र क्षेत्र नं. ४ का उम्मेदवार बरुणविक्रम राणालाई जनताहरुले भव्य स्वागत गरेका छन् ।

कमेन्टहरु
Loading...