कास्की २ को उपनिर्वाचनमा राप्रपाबाट रोम बहादुर भण्डारी

पोखरा, १८ कार्तिक / मंसिर १४ गते हुने कास्की क्षेत्र नं २ को उपनिर्वाचनमा राप्रपाले केन्द्रीय सदस्य रोमबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त स्थानका लागि हुने उपनिर्वाचनका उम्मेद्वार छनौट गर्न अध्यक्ष कमल थापाको अध्यक्षतामा आइतबार बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकले यस्तो निर्णय गरेको राप्रपा प्रचार विभाग केन्द्रीय सदस्य सूर्य बास्तोलाले जानकारी दिए ।

यसैसगरी बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको रिक्त स्थानमा हुने उपनिर्वाचनमा उम्मेदवारी मनोनयन दर्ता गर्न पार्टीको वरिष्ठ नेतृत्व तहको नेतृत्वमा जुलुस सहित निर्वाचन कार्यालय जाने कार्यक्रम तय गरेको छ । जस अनुसार अध्यक्ष कमल थापा प्रतिनिधिसभा अन्तर्गत कास्कीको क्षेत्र नं. २ मा सहभागि हुनुहुनेछ ।

जसमा उपाध्ययक्षद्वय राजीव पराजुली र तोरण गुरुङ, गण्डकी प्रदेश अध्यक्ष हेमजंग गुरुङ र कास्कीबाट प्रतिनिधित्व गर्ने पार्टीका केन्द्रीय सदस्यहरुको सहभागिता रहने जनाइएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

रिक्त स्थानीय तह अन्तर्गत नगरपालिकाको मेयर/उपमेयर पदको उम्मेद्वार छनोट गर्न सम्बन्धित प्रदेश कार्य समितिलाई र नगरपालिकाको वडा अध्यक्ष, गाउँपालिकाको अध्यक्ष/उपाध्यक्ष र वडा अध्यक्षको उम्मेद्वार छनोट गर्न सम्बन्धित जिल्ला कार्य समितिलाई अधिकार प्रत्यायोजन गरिएको छ ।

कमेन्टहरु
Loading...