राष्ट्रियसभाका लागि ८३ जनाको उम्मेदवारी, १७ जना निर्विरोध निर्वाचित (को को भ​ए निर्बिरोध हेर्नोस्)

पोखरा, १० माघ /राष्ट्रियसभा सदस्यको यही माघ २४ गते हुने निर्वाचनका लागि ८३ जना उम्मेदवारबाट आज​ मनोनयनपत्र दर्ता भएको छ ।निर्वाचन आयोगका अनुसार महिला समूहबाट २६, दलित समूहबाट १४, अल्पसंख्यक/अपांगता समूहबाट १५ र अन्य समूहबाट २८ जना उम्मेदवारले उक्त निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन् ।उक्त निर्वाचनका लागि प्रदेश नम्बर–१ मा १२, प्रदेश नम्बर–२ मा ९, प्रदेश नम्बर–३ मा १७, प्रदेश नम्बर–४ मा १२, प्रदेश नम्बर–५ मा ११ प्रदेश नम्बर–६ मा १२ र प्रदेश नम्बर–७ मा १० जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रियसभाको ५९ सदस्य मध्ये स्थानीय तहका प्रतिनिधि र प्रदेशसभाका सदस्यले निर्वाचित गर्ने ५६ पदका लागि दलहरुले उम्मेदवारी दिएका हुन् ।राष्ट्रियसभाका लागि प्रत्येक प्रदेशबाट आठ जना निर्वाचित हुने व्यवस्था छ । जसमा खुलातर्फ तीनजना, महिला तीन, दलित एक जना र अपांगता वा अत्पसंख्यक समुदायबाट एक जना निर्वाचित हुने संवैधानिक प्रावधान छ ।स्थानीय तहका निर्वाचित प्रतिनिधिको पदभार १८ र प्रदेशसभा सदस्यको भतभार ४८ हुने संवैधानिक व्यवस्था छ ।

राष्ट्रियसभा सदस्यको ५६ पदका लागि हुने उक्त निर्वाचनका लागि दुई हजार ५६ जना मतदाता कायम गरिएको छ ।  एकल संक्रमणीय आधारमा चुनाव हुने भएकाले दलहरुले आफूले जित्न सक्ने पदका लागि मात्र उम्मेदवारी दिएका छन् ।जसमा १, २, ५ र ७ नम्बर प्रदेशका सबै महिला सदस्य सहित १७ जना निर्विरोध निर्वाचित भएका छन् ।  निर्विरोध हुनेमा नेकपा एमालेका ६ जना, नेपाली कांग्रेसका ५ जना, माओवादीका ३ जना, फोरमका २ जना र राजपा नेपालका १ जना छन् ।

निर्वाचन आयोगले भने माघ १४ गतेसम्म उम्मेदवारमाथि दावी विरोध गर्ने समय भएकाले उनीहरुलाई अहिले नै निर्विरोध निर्वाचित घोषणा गर्न नपाइने स्पष्ट पारेको छ । दावी विरोधबाट उम्मेदवारी खारेज नभएमा यी १७ जना राष्ट्रियसभा सदस्य चयन भएका हुन् ।राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि उच्च अदालत भएका जिल्लाका जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत तोकिएको छ भने तिनै जिल्लामा निर्वाचन केन्द्र तोकिएको छ ।

१ नम्बर प्रदेशबाट ३ महिला सदस्य निर्विरोध

नैनकला ओझा (एमाले)
विना पोखरेल (माओवादी)
सरिता प्रसाईं (नेपाली कांग्रेस)

२ नम्बर प्रदेशमा खुल्ला बाहेक सबै निर्विरोध

महिलातर्फ ३ निर्विरोध निर्वाचित :
शशीकला दाहाल (माओवादी)
मुक्ताकुमारी यादव (नेपाली कांग्रेस)
प्रमिला कुमारी (संघीय समाजवादी फोरम)

अल्पसंख्यकबाट १ निर्विरोध निर्वाचित
बृषेशचन्द्र लाल (राजपा)

दलिततर्फ १ निर्विरोध निर्वाचित
रामपृत पासवान (संघीय समाजवादी फोरम)

५ नम्बर प्रदेशमा महिलातर्फ ३ निर्विरोध

कोमल वली (एमाले)
मीना बुढा (एमाले)
अनिता देवकोटा (नेपाली कांग्रेस)

प्रदेश नं. ७ मा ६ जना निर्विरोध निर्वाचित

खुल्लातर्फ ३ सदस्य निर्विरोध निर्वाचित :
शेरबहादुर कुँवर (एमाले)
हरिराज चौधरी (माओवादी)
बद्री पाण्डे (नेपाली कांग्रेस)

महिलातर्फ ३ निर्विरोध निर्वाचित :
इन्दु कडरिया (एमाले)
कमला वली (एमाले)
तारा भट्ट (नेपाली कांग्रेस)

कमेन्टहरु
Loading...