नयाँ राष्ट्रपतिको निर्वाचन फागुन २१ गते

काठमाडौं,  ३ फागुन /राष्ट्रपतिको निर्वाचन यही फागुन २१ गते गर्ने विषयमा दलहरुबीच सहमति भएको छ ।राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका विषयमा निर्वाचन आयोगले राजनीतिक दलहरुसँग बिहीबार​ गरेको छलफलमा राष्ट्रपतिको निर्वाचन फागुन २१ गते गर्ने आयोगको प्रस्तावमा सहमति भएको नेकपा एमालेका नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति घोषणा, निर्वाचनको तयारी, राजनीतिक संवाद संयन्त्र गठन लगायतका विषयमा राजनीतिक दलका प्रतिनिधिसँग विस्तृत रुपमा छलफल भएको आयोगले जनाएको छ ।निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले विभिन्न सरोकारवालासँग छलफल गरेर फागुन महिना भित्रै निर्वाचन सम्पन्न गर्नेगरी आयोगले मिति घोषणा गर्ने जानकारी दिए ।आयोगका तर्फबाट यही फागुन महिनाको अन्त्यसम्म राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न गर्ने कार्यतालिका सहितको प्रस्तावलाई दलहरूले समर्थन गरेका थिए ।

राष्ट्रपतिको निर्वाचनका लागि संघीय संसदका सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचकमन्डल रहने र संघीय संसदका सदस्यको मतभार ७९ र प्रदेशसभाका सदस्यको मतभार ४८ रहने प्रवक्ता ढकालले जानकारी दिए ।राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक–फरक लिंग वा समुदायको प्रतिनिधित्व हुनेगरी गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

कमेन्टहरु
Loading...