रवीन्द्रको गाउँमा रजनीको घरदैलो

पोखरा, ८ मंसिर /मंसिर १४ गते हुने उपनिर्वाचन लक्षित चुनावी घरदैलोको क्रममा साझा पार्टीका तर्फबाट उम्मेदवार बनेकी रजनी केसी पोखरा २१ भरतपोखरी पुगेकी छन् ।

शनिबार उम्मेदवार केसीसहितको टोली तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको गाउँ भरतपोखरीको कालिकास्थान, गैरे गाउँ, डाँडा गाउँ लगायतका ठाउँमा पुगेको हो । यसअघि पनि एकपटक सो वडामा घरदैलो र कोणसभा गरिएको थियो ।

मतदाता भेटघाट पछि आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार केसीले आफूले आश्वासन बाँडेर नभइ काम गरेर देखाउने बताइन् । चुनावमा आश्वासन बाँडने काम म गर्दिन, एकपटक अवसर पाए काम गरेर देखाउछु, उनले भनिन् ।

उनले राजनीतिलाई आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्ने माध्यम बनाएर राजनीतिको परिभाषा नै बिगारिएको भन्दै राजनीति निस्वार्थ हुनुपर्ने स्पष्ट पारिन् ।

करले जनताको ढाड सेकेको बताउँदै युवालाई देशमा बस्ने वातावरण सिर्जना गर्नुपर्ने ठाउँमा वर्तमान सरकार रेमिट्यान्समा भुलिरहेको बताइन् ।

कर्मचारी र विद्यार्थीलाई कार्यकर्ता बनाउने कम्युनिष्ट र काङ्ग्रेसबाट केही आश गर्नु व्यर्थ भएको उनको भनाइ थियो । साझा पार्टी सधैं पेशागत संघ संगठन खारेज गर्नुपर्ने पक्षमा रहेको उनले बताइन् ।

उम्मेदवार केसीले आफ्नो उम्मेदवारीप्रति मतदाताले दिएको प्रतिक्रियाले थप हौसला प्रदान गरेको सुनाइन् । चुनावको मिति नजिकिएसँगै पार्टीले घरदैलो र कोणसभा कार्यक्रमलाई तीव्र बनाएको छ ।

कमेन्टहरु
Loading...