Ganthan News Pokhara
All news from Pokhara & around

लोकप्रिय र उदयीमान राजनीतिज्ञको दुःखद अवसान

रवीन्द्र अधिकारी
1

खिलानाथ ढकाल
काठमाडौं, १५ फागुन /प्रतिनिधिसभा निर्वाचन २०७४ को चुनावी सरगर्मीले कास्कीको क्षेत्र नम्बर २ तातेको थियो । चुनावी मैदानमा प्रमुख प्रतिद्वन्द्वी थिए बामगठबन्धनबाट रवीन्द्र अधिकारी र कांग्रेसका देवराज चालिसे ।

२७,२०७ मत ल्याएर अधिकारी निर्वाचित भए । चालिसे झन्डै ९ हजार मतले अधिकारीसँग पराजित भएका थिए । चालिसेले १८,६६१ मत ल्याएका थिए । फरक पार्टीका फरक नेताबीच भिडन्त भए पनि त्यो चुुनाव ‘मित्रवत’ लाग्छ चालिसेलाई । ‘प्रतिद्वन्द्वी वा प्रतिस्पर्धी भएर चुनाव लडेको अनुभव भएन,’ चालिसे भन्छन्, ‘अर्को पार्टीको नेता भए पनि उहाँ मिलनसार, भद्र र राजनीतिक संस्कार भएको नेता हुनुहुन्थ्यो ।’

बुधबार काठमाडौं आउने क्रममा बाटोमा तिनै ‘मित्रवत’ साथीको हेलिकप्टर दुर्घटनाको खबर सुनेपछि चालिसे स्तब्ध भए। ‘मैले राजनीतिको एउटा असल मित्र गुमाएँ, गाउँको विकासप्रेमी नेता,’ चालिसेले दुःख प्रकट गरे, ‘उहाँ युवा राजनीतिको आशलाग्दो भविष्य हुनुहुन्थ्यो।’

ताप्लेजुङ पाथीभरा मन्दिर दर्शन गरेर फर्किने क्रममा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा पर्यटन मन्त्रीसमेत रहेका अधिकारीसहित ७ जनाको मृत्यु भयो। मन्त्री अधिकारी तेह्रथुमको चुहानडाँडामा विमानस्थल सम्भाव्यता अध्ययन गरी फर्किने क्रममा पाथीभरा दर्शन गरेर हेलिकप्टर चढेका थिए।

कम्युनिस्ट राजनीतिमा संगठित हुँदा उनी मात्र ११ वर्षका थिए। २०३६ सालको विद्यार्थी आन्दोलन र जनमत संग्रहपछि पञ्चायतले स्कुल तहमा पनि विद्यार्थी संगठन स्वीकार गरेको थियो। माध्यमिक विद्यालयमा विद्यार्थी युनियनको चुनाव हुने गर्थ्यो। २०३८ सालमा शान्ति उदय मावि स्कुलमा ७ कक्षा पढ्दै गर्दा नै सबैभन्दा बढी मत पाएर अधिकारी अनेरास्ववियुका स्कुल कमिटी सदस्य निर्वा्चित भएका थिए।

सानै उमेरदेखि राजनीतिक गतिविधिमा होमिएका अधिकारी पढाइका अतिरिक्त सामाजिक कार्यहरूमा पनि सक्रिय रहेको चालिसे बताउँछन्। प्रवेशिका उत्तीर्णपछि २०४२ सालमा पृथ्वीनारायण क्याम्पस पोखरामा भर्ना भए। स्कुलदेखि नै राजनीतिमा चासो उनी क्याम्पस भर्ना भएपछि राजनीतिक गतिविधिमा झन् सक्रिय भए।

अधिकारी २०४४ सालमा अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष भए। उनी २०४५ सालमा नै अनेरास्ववियु कास्की जिल्ला कमिटी अध्यक्ष भएका थिए। २०४७ सालमा गण्डकी अन्चल अध्यक्ष तथा अनेरास्ववियु केन्द्रीय सदस्य भए।

कम्युनिस्ट पार्टीले छेडेको पञ्चायतविरूद्धको आन्दोलनमा उनको विशेष सक्रियता देखिन्थ्यो। २०४६ सालको आन्दोलनको केन्द्र पोखरा थियो। ‘आजको आवश्यकता संयुक्त संघर्ष प्रजातन्त्रका लागि पञ्चाएतको अन्त्य’ नारासाथ उनी २०४६ को जनआन्दोलनमा क्रियाशिल भएका थिए।

पञ्चायतबिरोधी आन्दोलनमा लागेको भन्दै तत्कालीन सरकारले २०४६ सालमा अधिकारीलाई पक्राउ गरेको थियो। उनी त्यतिबेला आठ महिना जेल परेका थिए। राजाको प्रत्यक्ष शासनकालमा प्रतिगमनबिरोधी आन्दोलनमा पनि उनी पटक/पटक पक्राउ परेका थिए। पञ्चायतसँग जुध्दै उनी २०४९ सालमा पृथ्वीनारायण क्याम्पस पोखरामा स्ववियु सभापति निर्वाचित भए ।

अनेरास्ववियुमा राजनीति गर्दा नै उनले कुशल संगठको परिचय दिएका थिए। विद्यार्थीका लागि कोचिङ कक्षा, पुस्तकालय, सरसफाइ, खेलकुद, सांस्कृतिक कार्यक्रम, नाटक प्रदर्शनलगायतका माध्यमबाट उनले संगठन अघि बढाए। कम्युनिस्ट राजनीति र दर्शनको विस्तारमा लागिरहे । धेरै युवालाई कम्युनिस्ट राजनीतिमा आकर्षित गरे।

पृथ्वीनारायण क्याम्पसमा स्ववियुको कार्यकाल सकिएपछि उनी उच्च शिक्षाका लागि काठमाडौं आए। त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरमा भर्ना भए। त्यहाँको राजनीतिमा पनि उनको सक्रियता कायम रह्यो। उनी २०५३ सालमा त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापति निर्वाचित भए । त्यही साल २०५३ साल उनी स्ववियु काउन्सिल नेपालका संयोजक निर्वाचित भएका थिए ।

अनेरास्ववियुको नेतृत्वमा रहँदा उनले शिक्षाको निजीकरण, व्यापारीकरणको विरोध र सबैका लागि गुणस्तरीय शिक्षा जस्ता आन्दोलन चलाएका थिए। राष्ट्रियताको पहरेदारीका लागि कालापानी मार्च, सीमा सुरक्षा अभियान, नेपाली भू भाग डुबाउने लक्ष्मणपुर बाँधको विरोध उनी गर्थे ।

उनी एमाले विद्यार्थी राजनीतिको उत्कर्षतिर लाग्दै गर्दा २०५४ मा महाकाली सन्धीको विवादमा एमाले पार्टी फुट्यो। बामदेव गौतमको नेतृत्वमा नेकपा माले गठन भयो । उनी मालेमा आवद्ध भए। मालेको अनेरास्ववियुबाट २०५६ सालमा उनी केन्द्रीय अध्यक्ष निर्वाचित भएका थिए ।

मालेको राजनीति २०५६ को चुनावमा धर्मरायो । गौतम नेतृत्वको मालेले संसदमा एउटा पनि सिट जित्न सकेन । माले फेरि एमालेमै मिसियो। मालेका केही नेता, कार्यकर्ता माओवादीमा लागे। अधिकारी भने मुलधारको संसदीय राजनीति रोज्दै एमालेमै फर्किए ।

शाही शासन विरुद्धको आन्दोलनमा पनि अधिकारी अग्रपङ्तिमा थिए । ‘हत्यारा बस्ने दरबारमा हैन, जेलखानमा हो’ भन्दै ५ लाख २३ हजार हस्ताक्षर दरबारमा बुझाउने कामको नेतृत्व पनि उनैले गरेका थिए ।

लगभग बाल्यकालमै सुरु भएको राजनीतिमा उनी बिना थकान निरन्तर सक्रिय रहे। त्यो लामो सक्रियतामा पनि उनको सक्रियता, सरलता र सहृदयतामा कहिल्यै कमी देखिएन। यिनै तीन कुरा उनको राजनीतक जीवनको सबैभन्दा बलियो पुँजीका रुपमा रहे। त्यसैले उनलाई पार्टीभित्र र जनतामाझ निरन्तर लोकप्रिय बनायो।

त्यो लोकप्रियता विद्यार्थी संगठनमा होस् वा संसदीय राजनीतिमा एकसमान कायम रह्यो। २०६४ सालयता भएका तिनै निर्वाचनमा उनी कास्कीबाट निर्वा्चित भएका थिए। संविधानसभा पहिलो, दोस्रो निर्वाचनमा उनी कास्की क्षेत्र नम्बर ३ बाट निर्वा्चित भएका थिए। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी उठेको निर्वाचन क्षेत्र २ भएको थियो। उनी यहाँ बाट कांग्रेस उम्मेदवार चालिसेलाई पराजित गरी निर्वा्चित भएका थिए।

२०६४ र २०७० सालको संविधानसभा सदस्यमा विभिन्न समितिमा रहेर उनले काम गरे। जलविद्युत, फ्रिक्वेन्सी, सार्वजनिक संस्थान, बैंक, उद्योग, सेना, विकास खर्च, मेसिन रिडेबल पासर्पोर्टलगायत विषयमा विभिन्न उप(समितिमा रहेर त्यसको नेतृत्व गरी उनले काम गरेका छन्।

२०७० को चुनावपछि उनी विकास समिति सभापति थिए। त्यहाँ रहँदा उनले प्रभावकारी भूमिका खेले। विकासमा उनको गहिरो अभिरुची र सक्रिय चासो थियो। उनले नेपालको विकास र समृद्धि समेटेर पुस्तक नै लेखेका थिए। नेकपामा अधिकारी भविष्यमा सम्भावना भएका उदयमान नेता थिए। उनको उत्साह र ऊर्जा धेरैका लागि प्रेरणा र डाहाको विषय थियो।

‘२०७० सालको चुनावमा हामी संविधान निर्माणमा सक्रिय भएर लाग्यौं, संविधान निर्माणका लागि दबाब बढायौं, महत्वपूर्ण राष्ट्रिय मुद्दामा सहकार्य गर्यौं,’ अधिकारीलाई सम्झँदै नेकपाका युवा नेता प्रकाश ज्वाला भन्छन्, ‘एनसेलको कर उठाउने, विकास खर्च बढाउने, फास्ट ट्रयाक निर्माणमा हामीले महत्वपूर्ण भूमिका खेलेका थियौं।’

पार्टी राजनीतिमा पछिल्लो समय प्रधानमन्त्री केपी ओलीनिकट मानिन्थे। २०७१ मा एमालेको नवौं राष्ट्रिय महाधिवेशन हुँदा बामदेव गौतम समूह ओली खेमामा मिसिएर चुनाव लड्यो। अधिकारी त्यहीँबाट ओली समूहमा थिए। प्रतिनिधिसभा निर्वाचनपछि २०७४ फागुनमा बनेको सरकारमा ओलीले उनलाई पर्यटनमन्त्री बनाए।

पर्यटनमन्त्रीका रुपमा पनि उनको सक्रियता जबरजस्त थियो। निजगढमा अन्तर्रा्ष्ट्रिय विमानस्थल बनाउन, पर्यटन वर्ष २०२० लाई सफल बनाउन, त्रिभुवन एयरपोर्ट विस्तार गर्न उनी सक्रियतापूर्वक लागेका थिए। लामो समय पार्टीमा सँगै राजनीति गरेका नेकपा युवा नेता योगेश भट्टराई अधिकारीको मृत्युमा निःशब्द भए। ‘म बोल्न सक्ने अवस्थामा छैन,’ उनले भने।

विपक्षी पार्टी नेपाली कांग्रेसका युवा नेता गगन थापाले देशले एक आशातित नेता गुमाएको ट्वीट गरेका छन्। ‘रविन्द्र दाइको दुर्घटनाको खबरले स्तब्ध भएँ, मनमा झिनो आशा थियो तर त्यो आशा धेरै समय टिक्न सकेन। मैले आज एक असल साथी गुमाएको छु, देशले एक आशातीत नेता,’ ट्वीटमा थापाले लेखेका छन्।

इन्द्रप्रसाद र लक्ष्मीदेवीका जेठा छोरा रवीन्द्र २०२६ साल वैशाख २२ गते जन्मेका थिए। पोखरा महानगरपालिका वडा ३३ गैरीगाउँमा जन्मेका थिए। हाल उनी पोखरा महानगरपालिका(५ मालेपाटन बस्थे।

रवीन्द्रका भाइ दीपेन्द्र र कमल जापानमा छन्। बहिनी सानु र आमा/बाबु पोखरामै बस्छन्। दुई छोरामध्ये बिराज अध्ययन सिलसिलामा भारत बैंग्लोर छन्। कान्छा आमासँग काठमाडौंमा। पृथ्वीनारायण क्याम्पसमै पोखरा पढ्दा विद्या भट्टराईसँग उनको प्रेम थियो। यही क्याम्पसमै हुँदा उनीहरू बैवाहिक सम्बन्धमा बाँधिएका थिए।

पछिल्लो समय गत बिहीबार गृहजिल्ला कास्की पुगेका थिए। नातेदारका अनुसार उनी पोखरा आउँदा कार्यकर्ता/शुभचिन्तक र मतदाता निकै खुसी हुन्थे। त्यो हुनुमा उनको ‘व्यक्तित्व’ थियो। जतिबेला पुग्थे, स्थानीयका पिरमर्का र समस्या सुन्थे। तल्लो तहका मतदाता र कार्यकर्तासँग घुलमिल गर्थे ।

‘उहाँ नेतृत्व सहज गर्न सक्ने, हक्की र निर्धक्क बोल्नसक्ने नेता हुनुहुथ्यो,’ नातेदार धर्मराज अधिकारीले भने, ‘उहाँ पोखरा आउँदा शक्तिको दियो बल्थ्यो । पोखराको विकासका हरेक इँटामा उहाँको स्मरण गरिन्छ ।’ नेपालको राजनीतिमा पनि उनको सक्रियता र सरलताको छाप रहिरहनेछ ।

सेतोपाटी डटकमबाट साभार

हेलिकप्टर दुर्घटनाको छानबिन गर्न समिति गठन, बिहीबार सार्वजनिक बिदा

Get real time updates directly on you device, subscribe now. (अपडेटहरू सिधै तपाइँको ब्राउजरमा प्राप्त गर्न सब्स्क्राइब् गर्नुहोस्।

अरु सम्बन्धित खबरहरु