स्थानीय तहको पुनर्संरचनाका काँग्रेस कास्कीको कार्यशाला

पोखरा, १३ कात्तिक/नेपाली काँग्रेस कास्कीले शुक्रबार स्थानीय तह पुनर्संरचना सम्बन्धि एकदिने कार्यशाला गरेको छ । कार्यकर्ताहरुलाई स्थानीय तहको पुनर्संरचनाका बिषयमा जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको हो ।

कार्यक्रममा २ सय भन्दा बढी अगुवा नेता तथा कार्यकर्ताको सहभागिता रहेको नेपाली काँग्रेस कास्कीका सदस्य नवीन सिग्देलले जानकारी दिए । कार्यक्रममा राज्य पुनर्संरचना आयोगका सदस्य डा. श्यामकृष्ण भुर्तेलले स्थानीय तहको महत्व र यसका चुनौतिहरुका बिषयमा सहजीकरण गरेका थिए । उनले जतिसक्दो कम तह बनाउनुपर्नेमा जोड दिए ।

राज्यको आर्थिक भार बढ्ने भन्दै थोरै संरचना भए काम गर्न पनि सहज हुने बताए । अधिकार प्रत्यायोजनका हिसावले स्थानीय तह निकै खर्चालु भएको उनको भनाई छ । उनले राजनीतिक स्वार्थ भन्दा जनतालाई अधिकतम सहजता हुने गरी संरचना तयार गर्न सुझाव दिए ।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा सांसद जीवन परियारले स्थानीय तहको पुनर्संरचना सबै पार्टीहरुको प्राथमिकतामा परेकाले समयमै काम सकिने विश्वास ब्यक्त गरे । अर्का सांसद यज्ञबहादुर थापाले नयाँ संरचना समायोजनको समयमा केही समस्या जस्तो देखिएपनि निकै बैज्ञानिक रहेको उल्लेख गरे ।

सांसद शारदा पौडेलले पनि तोकिएको समयमै सबै चुनाव गर्न एकजुट हुनुपर्ने बताईन् । कार्यक्रममा नेपाली काँग्रेसका पुर्व केन्द्रिय आमन्त्रित सदस्य रामजी कुवँर, काँग्रेस नेता खेमराज पौडेल लगाएतले राजनीतिक स्वार्थ भन्दा माथी उठेर पुनसंरचनामा सघाउन आग्रह गरे । कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रामराज लामिछानेले गरेका थिए भने उपसभापति हरी आचार्यले स्वागत तथा सचिव सुदिपमोहन भट्टराईले धन्यवाद ज्ञापन गरेका थिए ।

कमेन्टहरु
Loading...