केपी शर्मा ओली नेपालको ४१ औं प्रधानमन्त्रीमा नियुक्त , लिए शपथ

काठमाडौं,  ३ फागुन /नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपालको ४१ औं प्रधानमन्त्रीमा नियुक्त भ​एका छन् । बिहिबार​​ राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न नेकपा एमाले र नेकपा माओवादी केन्द्र​ले आज​ नै राष्ट्रपति समक्ष समर्थनको पत्र बुझाएका थिए ।

यसैबिच,​ राष्ट्रपति भण्डारीले नवनियुक्त प्रधानमन्त्री ओलीलाई नेपालको संविधान बमोजिम बिहिबार​साँझ पद तथा गोपनीयताको शपथ गराएकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा साँझ ५ बजे आयोजित विशेष समारोहमा उनले शपथ लिएका हुन् ।

यस्तै, नवनियुक्त प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाका सदस्य लालबाबु पण्डितलाई जनसंख्या तथा वातावरण र थममाया थापालाई महिला, बालबालिका तथा समाजकल्याण मन्त्रीमा नियुक्त गरेका छन् । राष्ट्रपति भण्डारीले बिहिबार​ राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा उनीहरुलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपाल पराजुली, पूर्वप्रधानमन्त्री, विभिन्न दलका नेता, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख लगायत सहभागी भ​एका थिए ।

कमेन्टहरु
Loading...