Advertisements
Ganthan News Pokhara
All news from Pokhara & around

को हुन् प्रदेश ४ का मुख्यमन्त्री, राजनीतिक यात्रा हली हड्तालदेखि मुख्य मन्त्रीसम्म

0 210

वासुदेव पौडेल/हरि वास्तोला
पोखरा, २९ माघ /प्रदेश नं ४ को मुख्य मन्त्रीमा पृथ्वीसुव्वा गुरुङ नियुक्ति हुनुभएको छ । प्रदेश प्रमुख बाबुराम कुँबरले उहाँलाई आज मुख्य मन्त्रीमा नियुक्ति गर्नुभएको हो । कुल ६० जना सदस्य रहेको प्रदेशसभामा २७ जना सदस्य रहेको नेकपा एमालेको संसदीय दलको नेता गुरुङलाई १२ सदस्य रहेको नेकपा (माओवादी केन्द्र)को समर्थन छ ।

हलीको ज्यालाबृद्धिको आन्दोलनदेखि प्रदेशको मुख्य मन्त्रीसम्म बन्न सफल गुरुङ हाल लम्जुङ प्रदेश (ख)बाट प्रदेशसभा सदस्यमा निर्वाचित बन्नुभएको हो । नेकपा एमालेमा प्रभावशाली नेताका रुपमा आफ्नो उपस्थिति देखाउँदै आएका गुरुङ लम्जुङको साविक गिलुङ गाविस वडा नं ८ टक्सार(हाल क्व्होलासोंथर गाउँपालिका वडा नं ९) मा २०१४ साल फागुन २ गते पिता स्व.गंगाप्रसाद गुरुङ र माता स्व.चिनी गुरुङबाट जेठो सन्तानका रुपमा जन्मनुभएको हो ।

श्रीमती कुमारी मुनी गुरुङ सहित चार छोरी एक छोराका अभिभावक गुरुङले प्राथमिक शिक्षा त्रिग्राम विद्या मन्दिर, गिलुङबाट लिनुभएको हो भने ईशानेश्वर प्रमोद हाई स्कुल, भोर्लेटार, लमजुङबाट विसं २०३० सालमा एसएलसी उत्तिर्ण गर्नुभएको हो । उहाँले अमृत साइन्स क्याम्पस, लैनचौरंबाटै बि.एस्सी उत्तिर्ण गर्नुभएको थियो ।

वि.सं २०२७ सालमा ईशानेश्वर प्रमोद हाईस्कुल, भोर्लेटारमा अनेरास्ववियूको तर्फबाट स्ववियू सचिव निर्वाचित भै आफ्नो राजनीतिक यात्रा प्रारम्भ गरेका गुरुङ २०३१ सालमा अमृत साइन्स क्याम्पस छात्रवासमा अखिल नेपाल क्रान्तिकारीको अर्डिनेशन केन्द्र (माले) को सम्पर्कमा पुग्नुभएको थियो ।

त्यस्तै २०३५ सालमा मध्य–उत्तर इलाका पार्टी सक्रिय दल नेकपा (माले) लमजुङको सदस्यको रुपमा संगठित बनेका गुरुङ २०३६ सालमा नेकपा (माले) पश्चिमोत्तर इलाका पार्टी सक्रिय दल लमजुङको सदस्य बन्नुभयो । विसं २०३७ साल फागुन ७ गते नेकपा (माले) को पार्टी सदस्यता प्राप्त गरेका उहाँ २०४० बैशाखमा नेकपा (माले) जिल्ला संगठन कमिटीको सदस्य बन्नुभयो ।

२०४८ फागुनको प्रथम जिल्ला अधिवेशनबाट नेकपा (एमाले) जिल्ला कमिटी सचिवमा निर्वाचित बनेका गुरुङ २०५१ को दोस्रो जिल्ला अधिवेशनबाट निर्विरोध जिल्ला सचिवमा पुनः निर्वाचित बन्नुभयो । त्यस्तै २०५४ माघको नेपालगञ्जमा सम्पन्न पार्टीको छैटौं महाधिवेशनबाट नेकपा (एमाले) केन्द्रीय कमिटीको बैकल्पिक सदस्यमा निर्वाचित उहाँ २०५४ देखि २०५९ सम्म गण्डकी अञ्चल समन्वय कमिटीको सचिव भै जिम्मेवारी सम्हाल्नुभयो ।

पृथ्वीसुब्बा गुरुङ प्रदेश ४ को मुख्यमन्त्री नियुक्त
पृथ्वीसुब्बा गुरुङ प्रदेश ४ को मुख्यमन्त्री नियुक्त

नेकपा एमालेको केन्द्रीय कमिटि सदस्यमा २०६० मा मनोनित बनेका गुरुङ २०६० मा नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य, २०६१ देखि २०७० सम्म केन्द्रीय जातीय मामिला विभाग प्रमुख, २०६१ देखि २०७० सम्म आदिवासी–जनजाति फाँट इञ्चार्जको रुपमा जिम्मेवारी सम्हाल्नुभएको थियो ।

नेकपा एमालेको २०६५ मा बुटवलमा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित उहाँ २०६५ मा पार्टी पोलिटव्यूरो सदस्य निर्वाचित बन्नुभयो भने २०६९ देखि २०७१ सम्म केन्द्रीय कार्यालयको सचिवको जिम्मेवारीमा रहनुभयो । पार्टीको २०७१ मा सम्पन्न नवौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीको सचिवमा निर्वाचित उहाँ २०७२ देखि पार्टीको केन्द्रीय संगठन विभाग प्रमुखको जिम्मेवारीमा रहनुभएको छ ।

गुरुङसग सामाजिक पेशागत एवम् सामुदायिक क्षेत्रमा पनि नेतृत्वदायी भूमिका निर्वाह गरेका धेरै अनुभव छन् । नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला सदस्य हुँदै जिल्ला अध्यक्ष, जिल्ला खेलकुद विकास समिति लमजुङको सदस्य, जनपक्षीय मञ्च लमजुङको जिल्ला संयोजक, प्रजातान्त्रिक राष्ट्रिय एकता मञ्चको लमजुङ जिल्ला संयोजक तथा गण्डकी क्षेत्रीय कमिटीको कोषाध्यक्ष जस्ता धेरै ठाउँमा नेतृत्व गर्नुभएको छ ।

त्यस्तै प्रजातान्त्रिक राष्ट्रिय युवा संघको लमजुङ जिल्ला संयोजक हुँदै २०६३ असोज ४ गतेदेखि नेकपा एमालेको जनसंगठन नेपाल लोकतान्त्रिक आदिवासी–जनजाति महासंघको संस्थापक अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको छ भने २०७३ कार्तिकमा सम्पन्न नेपाल लोकतान्त्रिक आदिवासी–जनजाति महासंघको प्रथम राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा निर्विरोध निर्वाचित बन्नुभएको थियो ।

पृथ्वी सुब्बा गुरुङ प्रदेश ४ का मुख्यमन्त्री बन्ने
पृथ्वी सुब्बा गुरुङ प्रदेश ४ का मुख्यमन्त्री बन्ने

नेपालको लोकतान्त्रिक आन्दोलनका विभिन्न मोर्चामा नेतृत्वदायी भूमिका निर्वाह गरेका गुरुङ नेपाल राष्ट्रिय शिक्षक संगठनको आन्दोलनमा २०३७÷२०३८ मा दुई पटक हिरासतमा रहनुभएको छ भने ०४०/२०४१ को शिक्षक संघर्षमा १४ दिन प्रहरी हिरासतमा पर्नुभएको थियो ।

त्यस्तै ०४०/२०४१ को शिक्षक संघर्षको सफल नेतृत्व गर्दै लमजुङ जिल्ला संघर्षको अग्रस्थानमा रहेका उहा २०३८ सालमा नेकपा (एमाले) इलाका पार्टी संगठन कमिटीको तर्फबाट टक्सारमा ज्याला वृद्धिको लागि हली हड्तालको नेतृत्व गर्नुभएको थियो ।

त्यस्तै ०३९ सालमा कृषि मजदुरको ज्याला वृद्धिको लागि घाम्राङमा किसान आन्दोलनको नेतृत्व गरेका गुरुङ २०४१ देखि २०४४ साल सम्म घरवार विहिन किसान, सिकर्मी, डकर्मीहरुको घर निर्माण गर्न घर निर्माण सहकारी सञ्चालन गरी २५ वटा घर निर्माण गर्ने कामको वैचारिक नेतृत्व गर्नुभएको थियो ।

त्यस्तै २०४१ सालमा नेकपा (माले) लमजुङ जिल्लाको प्रतिरोधीदल ९च्भकष्कतबलत क्त्रगबम० को राजनैतिक कमिसारको जिम्मेवारी बहन गरेका उहाँले ०४५ सालमा नेकपा (माले )द्वारा सञ्चालित पञ्चायत विरोधी संघर्षको लागि गठित संयुक्त संघर्ष समिति, नेकपा (माले) लमजुङको संयोजकको भूमिका निर्वाह गर्नुभएको थियो ।

२०४६ सालमा पञ्चायती व्यवस्था विरोधी संयुक्त जनाआन्दोलन लमजुङमा संयोजकको भूमिका निर्वाह गरेका उहाँले ०४७ मा नेकपा (माले) को तर्फबाट बहुदल प्रचार समितिको संयोजक भई काम गर्नुभएको थियो ।

२०४२ असार ७ गते पक्राउ परी एक सय दिन प्रहरी हिरासत सहित ११ महिना शान्ति सुरक्षा ऐन अन्तरगत लमजुङ कारावासमा थुनामा रहदा कारावासमा रहेर नै रापस जनपक्षीय उम्मेदवार भै भण्डाफोर अभियानको रुपमा चुनावी मोर्चा प्रयोग गर्नुभएको थियो ।

पञ्चायती व्यवस्थाको भण्डाफोर अभियानको लागि पञ्चायती मञ्चको उपयोग नीति अनुसार नेकपा(माले) को तर्फबाट जनपक्षीय रापंस उम्मेद्वार बनेका उहा २०६३ मा नेकपा (एमाले) राज्य पुनःसंरचना सम्बन्धि कार्यदलको सदस्य बन्नुभयो भने ०६४ चैत १८ देखि २०६५ साउनसम्म नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको कार्यभार सम्हाल्नुभएको थियो ।

लमजुङ क्षेत्र नम्बर २ बाट २०६४ सालको संविधानसभाको निर्वाचनमा नेकपा (एमाले) को तर्फबाट प्रतिनिधिसभाको उम्मेद्वार बनी विजयी बनेका गुरुङ पहिलो संविधानसभामा (२०६५–०६९) मा शासकीय स्वरुप निर्धारण समितिको सदस्य, व्यवस्थापिका–संसद (२०६५–०६९) मा प्राकृतिक स्रोत साधन समितिको सदस्य हुनुहुन्थ्यो ।

दोस्रो संविधानसभाको निर्वाचनमा लमजुङ क्षेत्र नं २ बाट ६७२ मतले पराजित गुरुङ ०६६ मा पार्टी विधान सम्पादन कार्यदलको सदस्यमा मनोनित भै काम गर्नुभयो भने ०७४ मंसिर १० गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको पहिलो चरणको चुनावमा लमजुङ प्रदेश (ख) बाट सातहजार ९८६ मतअन्तरले विजयी बन्नुभयो ।

गुरुङले भारत, थाइल्याण्ड, मलेसिया, सिंगापुर, हङकङ, मकाउ, चीन, उत्तरकोरिया, जापान, अमेरिका, स्पेन, स्वीडेन, डेनमार्क, नेदरल्याण्ड, नर्वे, संयुक्त अधिराज्य, क्यानाडा, बोलिभिया, ग्वाटेमाला, एल साल्भाडोर, पेरु, इथिओपिया, बहराइन, कतार, संयुक्त अरव इमिरेट्स भ्रमण गर्नुभएको छ ।

देश र जनताको सेवालाई नै आफ्नो महत्वपूर्ण इच्छा भएको बताउने गुरुङ इतिहास र दर्शनशास्त्रको अध्ययन गर्न रुचाउनुहुन्छ । फुटवल, भलिवल, व्याटमिन्टन, बास्केटबल, टेवलटेनिस, कुस्ती, चेस/टेनिस, क्रिकेट हेर्न र खेल्न रुचि राख्ने उहाँ प्राकृतिक, ऐतिहासिक, पुरातात्विक, ग्रामिण स्थानको अध्ययन र भ्रमण गर्नका साथै गीत, संगीतमा विशेष रुचि राख्नुहुन्छ ।

Advertisements
You might also like

Leave a Reply (कमेन्ट गर्नुहोस्)