पहिलो चरणको निर्वाचनका लागि मतदानको सम्पूर्ण तयारी पूरा

मतदानमा सरिक हुन सम्पूर्ण मतदातालाई आग्रह

काठमाडौं,  ९ मंसिर/निर्वाचन आयोगले पहिलो चरणमा आईतबार​ मंसिर १० गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको तयारीबारे जानकारी दिन शनिबार​  आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवले आईतबार​ बिहान ७ बजे आ–आफ्नो मतदान केन्द्रमा उत्साहका साथ उपस्थित भइ मतदानमा सरिक हुन सम्पूर्ण मतदातालाई आग्रह गरेका छन् ।

संविधान कार्यान्वयनकै महत्वपूर्ण कडीका रूपमा रहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधिसभा तर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा तर्फ ७४ निर्वाचन क्षेत्रमा निर्वाचन हुँदैछ ।प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन तर्फ पहिलो हुने निर्वाचित हुने प्रणाली तर्फ पहिलो चरणमा जम्मा ७ सय​ २ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।पहिलो चरणको निर्वाचनमा जम्मा ३१ लाख ९१ हजार ९ सय​ ४५ मतदाताले मताधिकार प्रयोग गर्ने छन् भने दुई हजार ९ सय​ १९ मतदान स्थलमा चार हजार ४ सय​ ६५ मतदान केन्द्रमा मतदान हुँदैछ ।

मतदान गर्न जाँदा कुनै कारणवशः मतदाता परिचय पत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेको परिचय पत्र हराएमा वा नस्ट भएमा पनि मतदाताको मताधिकारलाई आयोगले सुनिश्चित गरेको छ ।सो क्रममा आयोगले मतदानका लागि नेपाली नागरिकताको प्रमाणपत्र वा वि.सं. २०७० मा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र , राहदानी , सवारी चालक अनुमतिपत्र , जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट तस्वीर सहित जारी भएको अन्य परिचयपत्र समेतका आधारमा मतदान गर्न पाउने व्यवस्था गरेको छ ।आफ्नो मतदाता नामावलीमा नाम रहेको मतदान केन्द्रमा प्रवेश गर्ने मतदाताले मात्रै मतदान गर्न पाउने हुँदा सबै मतदातालाई मतदानमा सरिक भइ आफूले चाहेको उम्मेदवार तथा राजनीतिक दललाई मतदान गर्न आयोगले अनुरोध समेत​  गरेको हो ।

कुनैपनि मतदाताले नाम ढाँटेर अर्काका नाममा मतदान नगर्न र यदि कसैले त्यस्तो गैरकानुनी कार्य गरेमा कानुन बमोजिम सजायको भागी हुनुपर्ने जनाउँदै आयोगले सबै राजनीतिक दल, उम्मेदवार तथा अन्य सरोकार भएकालाई निर्वाचन आचारसंहिताको पूर्णपालना गरी असल राजनीतिक संस्कारको विकासमा योगदान पुर्‍याउन अपिल गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा. यादवले अपांगता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा बिरामी मतदातालाई प्राथमिकता दिइ मतदान गर्नका लागि उचित व्यवस्था मिलाउन र सहज ढंगले मतदानको प्रबन्ध गर्न सबै मतदान अधिकृतलाई निर्देशन भइसकेको जानकारी दिए । दृष्टिविहीन वा शारीरिक अशक्तता भएका मतदाताले आफैं मतसंकेत गर्न नसकेमा एकाघरको परिवारका सदस्यले मतदान अधिकृतको स्वीकृति लिएर वा मतदान अधिकृतको सहयोगमा मत संकेत गर्न सक्ने व्यवस्था समेत मिलाइएको आयोगले जनाएको छ ।

कमेन्टहरु
Loading...