यस्तो छ नेपालका ४१ औं प्रधानमन्त्री केपी शर्मा ओलीको जिवनी

काठमाडौं, ३ फागुन/नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेपालको ४१ औं प्रधानमन्त्रीमा नियुक्त भ​एका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न एमाले र माओवादीले बिहीबार नै राष्ट्रपति समक्ष समर्थनको पत्र बुझाएका थिए । निर्वाचन आयोगले बुधबार राष्ट्रपतिलाई प्रतिनिधिसभा चुनावको अन्तिम नामावली बुझाएसँगै सरकार गठनको बाटो खुलेको थियो ।

राष्ट्रपति भण्डारीले नवनियुक्त प्रधानमन्त्री ओलीलाई नेपालको संविधान बमोजिम बिहीबार साँझ पद तथा गोपनीयताको शपथ गराएकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा साँझ ५ बजे आयोजित विशेष समारोहमा उनले शपथ लिएका हुन् ।प्रधानमन्त्री ओलीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्नेछ ।

वाम गठबन्धन बनाएर चुनावमा गएका एमाले माओवादीसँग स्पष्ट बहुमत रहेको छ । २ सय ७५ जना सदस्य रहेने प्रतिनिधिसभामा पहिलो पार्टी भएको एमालेका १ सय २१ जना सांसद रहेका छन भने तेस्रो पार्टी माओवादी केन्द्रका ५३ जना सांसद रहेका छन । सरकार बनाउनका लागि चाहिने सामान्य बहुमत १ सय ३८ भएको कारण एउटै पार्टीको बहुमत पुग्दैन तर एमाले र माओवादी केन्द्रको गरेर १ सय ६४ जना सांसद रहेका छन ।

प्रधानमन्त्री ओलीको राजनैतिक यात्रा

नवनियुक्त प्रधानमन्त्री एवं​ नेकपा एमालेका अध्यक्ष खड्ग प्रसाद शर्मा (केपी) ओलीको जन्म २००८ साल फागुन ११ गते भएको हो । तेह्रथुमको इवा गाउँमा बाबु मोहन प्रसाद ओली र आमा मधु ओलीको कोखबाट उनको जन्म भएको हो । झापामा विद्यालय जीवन सुरु गरेका ओलीले कक्षा ४ सम्मको अध्ययन गाउँमा पूरा गरेका थिए। ओलीले झापाको आदर्श माध्यमिक विद्यालयबाट २०२८ सालमा प्रवेशिका परिक्षा (एसएलसी) उत्तिर्ण गरेका थिए । २०२२ सालमा कम्युनिष्ट राजनीतिमा लाग्नुभएका ओलीले २०२६ सालमा नेकपाको सदस्यता लिएका थिए ।

२०२८ सालको झापा आन्दोलनका नेतृत्वकर्ता मध्ये ओली पनि एक हुन् । झापा आन्दोनलन गरेको वर्ष नै उनि जेल पनि परे । ओली तत्कालीन नेकपा (माले) को संस्थापक नेता समेत हुन् । पञ्चायती व्यवस्था विरुद्धको संघर्षका क्रममा ओलीले २०२८ देखि २०४४ सम्म १४ वर्ष जेल जीवन बिताएका छन् । जेल जिवनबाट मुक्त भएपछि ओली २०४८ सालको आम निर्वाचनमा पहिलो पटक विजयी भ​एका थिए । त्यसपछि भएका २०५१ र २०५६ सालको आम निर्वाचनमा पनि उनि झापा क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभामा विजयी भ​एका थिए । पहिलो संविधान सभा चुनाव २०६४ मा भने उनि झापाको क्षेत्र नम्बर ७ बाट पराजित भ​ए । २०४९ सालमा नेकपा एमालेको स्थायी कमिटी सदस्य भएका ओली २०५१ सालदेखि २०५२ सालसम्म गृहमन्त्री बनेका थिए  भने २०६४ देखि २०६५ सम्म उपप्रधान तथा परराष्ट्रमन्त्री बनेका थिए ।

दोश्रो संविधानसभा चुनाव २०७० मा झापा क्षेत्र नम्बर ७ बाट विजयी भएका ओलीले आफ्नै पार्टीका अध्यक्ष झलनाथ खनाललाई पराजित गर्दे २०७० साल माघ २१ गते एमाले संसदीय दलको नेतामा विजयी भ​एका थिए ।२०७१ साल साउन १ गते एमालेको नवौं महाधिबेशनबाट एमालेका नेता माधव कुमार नेपाललाई पराजित गर्दै उनि एमालेको अध्यक्षमा विजयी भ​एका थिए । एमाले संसदीय दलको नेता समेत रहेका ओली पार्टी अध्यक्षमा विजयी भएपछि संसदमा प्रतिनिधित्व गर्ने दोस्रो ठूलो पार्टीको अध्यक्ष तथा संसदीय नेताको हैसियतले भावि प्रधानमन्त्रीको रुपमा हेरिएको थियो ।

पार्टी अध्यक्ष भएको १ वर्षपछि नै ओली २०७२ असोज २४ गते एमाले संसदीय दलको नेताको रुपमा उनि नेपालको ३८ औं प्रधानमन्त्री बनेका थिए । नेपालमा संविधान जारी भएपछि प्रधानमन्त्री बनेका ओली नेतृत्वको सरकारले भारतले गरेको नाकाबन्दीको सामाना गर्नुपरेको थियो ।भारतको नकाबन्दीलाई डटेर सामाना गर्दै नेपालको पारवहन सम्झौता चिनसँग गरेको हुनाले ओली नेतृत्वको सरकार त्यो समयमा निकै लोकप्रिय भएको थियो । झण्डै १० महिना सरकारको नेतृत्व गरेका ओलीले ०७३ साल साउन ९ गते प्रधानमन्त्री पदबाट राजिनामा दिएका थिए । प्रधानमन्त्री कालमा सफल मानिएका ओली पार्टी नेतृत्वमा पनि सफल अध्यक्षको रुपमा चित्रित छन् ।

स्थानीय तह चुनावमा पहिलो पार्टी भएको एमाले प्रदेश र प्रतिनिधिसभा चुनावमा पनि पहिलो पार्टी भएको छ ।प्रदेश र प्रतिनिधिसभा चुनावमा माओवादी केन्द्रसँग वाम एकता गरेर चुनावमा गएको एमाले र माओवादीले संसदका सबै सदनमा बहुमत ल्याएका छन् ।वाम एकतासँगै माओवादीसँग पार्टी एकता गर्ने सहमती गरेको एमालेले ३ वर्षे प्रधानमन्त्रीका लागि पार्टी अध्यक्ष केपी ओलीलाई अगाडि सारेपछि २०७४ साल फागुन ३ गते ओली दोस्रो पटक प्रधानमन्त्रीको रुपमा चयन भ​एका छन् । लामो सङक्रमणकालको अन्त्यपछि तथा संघीय नेपालको पहिलो प्रधानमन्त्रीको रुपमा ओली अबको ३ वर्ष नेपालको प्रधानमन्त्री रहने छन् ।

कमेन्टहरु
Loading...