राष्ट्रिय दलको मान्यता पाउन समानुपातिक तर्फ तीन प्रतिशत र प्रत्यक्षतर्फ एक सिट जित्नैपर्ने

काठमाडौं, चैत ९/व्यवस्थापिका–संसदले राष्ट्रिय दलको मान्यता पाउन समानुपातिक तर्फ तीन प्रतिशत र प्रत्यक्षतर्फ एक सिट जित्नै पर्ने गरी बनाएको मतसीमा थ्रेसहोल्डको व्यवस्था सहितको राजनीतिक दल सम्बन्धी विधेयकलाई बहुमतले पारित गरेको छ । बुधबार दोस्रो पटक बसेको संसद बैठकले साना दलहरुको विरोधका बीच विधेयक बहुमतले पारित गरेको हो ।

यो विधेयकको पक्षमा प्रमुख तीन ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र एक भएका छन् ।संसद बैठकमा साना दलले विधेयकको विरोध गरेका छन् ।ठूला दलले जबर्जस्ती थ्रेसहोल्ड लगाएको भन्दै उनीहरुले विद्रोहको चेतावनी समेत दिएका छन् ।साना दलका नेताहरु सीपी मैनाली, प्रेम सुवाल, एकनाथ ढकाल लगायतले ठूला दलहरुले नै राजनीतिक विकृति भित्र्याएको भन्दै साना दललाई आरोप लगाएर यस्तो व्यवस्था गर्न खोज्नु न्यायसंगत नभएको बताए ।

यसअघि, बुधबारै राज्य व्यवस्था समितिले राष्ट्रिय दलको मान्यता पाउन राजनीतिक दलले अब प्रत्यक्षतर्फ एक सिट जितेको र कुल मतको तीन प्रतिशत मत ल्याउनुपर्ने व्यवस्था सहितको विधेयक संसदमा पठाएको थियो ।यो व्यवस्था अनुसार समानुपातिक तर्फ तीन प्रतिशत मत ल्याउने दलले संसदमा प्रतिनिधित्व गरेपनि राष्ट्रिय पार्टीको मान्यता भने पाउने छैनन ।साना दलले थ्रेसहोल्डमा असहमति जनाएकै कारण राजनीतिक दलसम्बन्धी विधेयक पारित हुन सकेको थिएन ।

यस्तै कुनै पनि दल फुटेर नयाँ राजनीतिक दल बन्नका लागि ४० प्रतिशत सांसद र केन्द्रिय कार्यसमितिका ४० प्रतिशत नेताको समर्थन लिनु पर्ने भएको छ । दल सम्बन्धी विधेयकमा पार्टीका ४० प्रतिशत सांसद र केन्द्रिय कार्यसमितिका ४० प्रतिशत नेताको समर्थन नजुटेमा फुटेको दलले राजनीतिक दलको मान्यता नपाउने व्यवस्था गरिएको एमाले नेता गंगालाल तुलाधरले जानकारी दिए । यस्तै विधेयकले दुई वा दुई भन्दा बढी दलले साझा चुनाव चिन्ह लिएर चुनाव लड्न पाउने व्यवस्था पनि गरेको छ ।

कमेन्टहरु
Loading...