निजी अस्पताल सञ्चालकलाई जिल्ला अस्पतालको अध्यक्ष बनाइएकोमा साझाको विरोध

नवलपुर, ४ साउन/साझा पार्टी, नवलपुरले प्रदेश सरकारले निजी अस्पताल सञ्चालकलाई जिल्ला अस्पताल सञ्चालक समिति अध्यक्ष बनाइएकोमा विरोध गरेको छ । एउटा निजी अस्पताल संचालकले आफ्नो ब्यबसायलाई नै असर पर्ने गरी कुनै पनि हालतमा सरकारी अस्पताललाई गुणस्तरिय र ब्यबस्थित बनाउनै नसक्ने पार्टीको ठहर छ ।

साझा नवलपुरले आज एक विज्ञप्ती जारी गर्दै भर्खरैमात्र जिल्ला अस्पतालको रुपमा स्तरोन्नति भएको नवलपुर जिल्लाकै एकमात्र अस्पताल मध्यबिन्दु जिल्ला अस्पतालको अध्यक्षमा सोही स्थानमा निजी अस्पताल संचालन गरिरहेका व्यक्ति गण्डकी प्रदेश सरकारको निर्णयबाट जिल्ला अस्पतालको अध्यक्ष नियुक्त गरिएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

पार्टीका जिल्ला संयोजक हरिप्रसाद गौतमले जारी गरेको विज्ञप्तीमा भनिएको छः ‘जिल्लाका आमनागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र सरलरुपमा दिनुपर्ने जिल्ला अस्पतालको संचालक समितिको अध्यक्षमा सोही स्थानमा संचालित निजी अस्पतालका संचालकलाई मनोनित गरिनु सरासर नीतिगत भ्रष्टाचार र चरम राजनैतिक हस्तक्षेप मात्र नभई कानुनत स्वार्थको बझान पनि हो।’

गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्ने सरकारी अस्पतालमा स्वास्थ क्षेत्रलाई नै व्यापार बनाएका ब्यक्ति, जसको निजी अस्पतालमा लगानी छ, उसैलाई नजिकै रहेको सरकारी अस्पतालमा नेतृत्व दिँदा त्यहाँ स्वार्थको बझान चरम रुपमा रहने साझा पार्टीको बुझाई छ ।

प्रदेश सरकारको यो निर्णय र नियत सरकारी अस्पताललाई धरासायी बनाउने तर्फ प्रेरित भएको देखिएको ठहर गर्दै पार्टीले यो निर्णयको घोर भत्सर्ना गरेको छ । यो विषयलाई तत्काल प्रदेश सरकारले सच्याएर अगाडि बढोस् भन्ने जोडदार माग राख्दै जनस्वास्थ्यको सवाललाई राजनैतिक हस्तक्षपबाट टाढै राखी काम कारबाही अगाडि बढाउन र आगामी दिनहरुमा यि र यस्ता निर्णय गर्दा राजनैतिक आग्रह र पुर्वाग्रह बिना सक्षम र ईमान्दार ब्यक्तिलाई जिम्मेवारी दिन साझा पार्टी नवलपुर गण्डकी प्रदेश सरकार समक्ष आग्रह गरेको छ ।

कमेन्टहरु
Loading...