अनियन्त्रित हुँदा मतदान अधिकृतको कुम फस्कियो

मतदान सामग्री ट्रिपरमै पठाइयो
बनेपा– काभ्रेको दुर्गम डाँडापारी गोकूले गाविसस्थित स्थित सोक्तेल मावि केन्द्रमा मतदान सामग्री लिएर जाँदै गरेका मतदान अधिकृत सन्दीप केसी घाइते भएपछि उपचारका लागि सदरमुकाम फर्केका छन् । स्थानीय प्रशासनले व्यवस्था गरेको सामान ढुवानी गर्ने टिपरमा मतदान सामग्री सहित गएका केसी बुढाखानी गाविसको कच्ची बाटोमा टिपरबाट खस्न लागेको कर्मचारीलाई समाउने क्रममा बायाँ कुमको हड्डी खुस्किए (डिस्लोकेशन) पछि उपचारका लागि फर्केका हुन् ।‘टिपरमा समाउने र उभिने ठाउँ कहीँ थिएन । सबैजना मत पेटिकामाथि बसेर जाँदै थियौं । बुढाखानीको कच्ची बाटोमा टिपर अनियन्त्रित भएपछि साथीहरुलाई जोगाउने क्रममा घाइते भएँ’, धुलिखेल अस्पतालमा उपचाररत केसीले जानकारी दिए । स्थानीय प्रशासनले सो केन्द्रलगायत डाँडापारीका केन्द्रहरुका लागि शुक्रबार मतपेटिका, मतपत्र र मतदाता नामावलीसहित कर्मचारीहरुलाई ३ वटा टिपर रिजर्भ गरेर पठाएको थियो ।

‘टिपरमा लगिएका अधिकांश मतपेटिकाहरुको सिल लगाउने ठाउँ फुटेको छ । मतदान केन्द्रसम्म पु¥याएपछि सिलबन्दी गर्ने ठाउँहरु खुस्केका कारण समस्या हुन सक्ने र टिपरको धुलोले मतपत्र र मतदाता नामावलीहरु मैलो हुने संभावना त्यतिकै छ’, उनले जानकारी दिए । टिपर छिटो कुदाउने भएको र वहिष्कारपक्षले ढुंगामुढा गरे पनि केही नहुने भएकाले काभ्रे प्रशासनले टिपर पठाएको बुझिएको छ । शनिबार पनि जिल्लाकै विकट कोशीपारी र कााकी क्षेत्रहरुमा समेत टिपरबाटै मतदान सामग्री र कर्मचारीहरु पठाइने भएपछि मतदानमा खटिएका कर्मचारीहरुले अनिच्छा व्यक्त गरेका छन् ।

‘जिल्लाका बस व्यवसायी संघको समन्वयमा बीमा गरेर जुन स्थानमा जाने हो त्यहीँ नियमित चल्ने बसको व्यवस्था गरेको भए सहज हुने थियो । हामीलाई भेडाबाख्रा झैं प्रशासनले व्यवहार ग¥यो’, कोशीपारी खटिएका मतदान अधिकृतले दुखेसो व्यक्त गरे ।

कमेन्टहरु
Loading...