स्थानीय तहको निर्वाचन पछि अब कुन दल कत्रो

काठमाडौं, ११ साउन/स्थानीय तहको निर्वाचनमा नगर प्रमुख र गाउँपालिका अध्यक्ष पदमा बढी स्थान जितेर नेकपा एमाले पहिलो बनेको छ । नेकपा एमालेले समग्रमै स्थानीय तहको सम्पूर्ण पदको ४५ प्रतिशत हिस्सा जित्न सफल भएको छ। पहिलो र दोस्रो चरणमा निर्वाचन सम्पन्न भएको स्थानीय तहको सम्पूर्ण पदमा एमालेले अन्य दललाई उछिनेको छ। आजको कान्तिपुरमा राजेश मिश्रले समाचार लेखेका छन् ।

स्थानीय तहका विभिन्न पदमा २८ हजार ४ सय ९ जना निर्वाचित जनप्रतिनिधिले जिम्मेवारी सम्हालिसकेका छन्। त्यसमा एमालेका १२ हजार ८ सय ४५ जनाले चुनाव जितेका छन्। उक्त संख्या गाउँपालिका तथा नगरपालिकामा अध्यक्षरप्रमुख, उपाध्यक्षरउपप्रमुख, वडा अध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्य गरी ७ पदमा निर्वाचितको हो।

एमालेले नगरप्रमुख १११, उपप्रमुख १२३, गाउँपालिका अध्यक्ष १६५, उपाध्यक्ष १८९, वडाध्यक्ष २,३३०, वडा सदस्य ४,९७०, महिला सदस्य २,५२५ र दलित महिला सदस्य २,४३२ सिट जितेको छ।

७ सय ४४ स्थानीय तहमध्ये पहिलो र दोस्रो चरणमा गरी ६१७ स्थानीय तहमा निर्वाचन सम्पन्न भइसकेको छ। देशभरका कुल ६,६८४ वडामध्ये ५,४७२ वडामा निर्वाचन भइसकेको छ। पहिलो चरणमै निर्वाचन सम्पन्न भएर पनि मतगणना विवादका कारण भरतपुर महानगरपालिकाको प्रमुख र उपप्रमुख तथा वडा नम्बर १९ र २० को परिणाम रोकिएको छ। त्यसबाहेक सबैतिर जनप्रतिनिधीले काम थालिसकेका छन्।

कांग्रेसले सबै पदमा गरी ९ हजार ७ सय ८ पदमा जित हासिल गरेको छ। उक्त संख्या कुल निर्वाचित पदको ३४ दशमलव १७ प्रतिशत हो। कांग्रेसले नगर प्रमुख ७९, उपप्रमुख ६१, गाउँपालिका अध्यक्ष १४७, उपाध्यक्ष १२६, वडाध्यक्ष १,९४६, वडा सदस्य ३७४४, महिला सदस्य १,८३२ तथा दलित महिला सदस्य १,७७३ सिट जितेको छ।

सम्पूर्ण पदमा गरी १५ दशमलव १८ प्रतिशत सिट जितेर माओवादी केन्द्र तेस्रो स्थानमा छ। उसले कुल ४ हजार ३ सय १३ पदमा जित हासिल गरेको छ। नगरप्रमुख २०, उपप्रमुख २५, अध्यक्ष ६४, उपाध्यक्ष ६२, वडाध्यक्ष ८७२, वडा सदस्य १,६३५, महिला सदस्य ८१७ र दलित महिला सदस्य ८१८ सिट जितेको छ। प्रमुख तीन दल एमाले, कांग्रेस र माओवादीले स्थानीय तहमा कुल पदको ९५ प्रतिशत हिस्सा ओगटेका छन्।

कमेन्टहरु
Loading...