कास्की काँग्रेस उपसभापति आचार्यको शोकसभा, पार्टीले छोरीछोरीलाई आर्थिक सहयोग गर्ने

पोखरा, २३ जेठ /नेपाली काँग्रेस कास्कीका उपसभापति स्व. हरि आचार्यको निधन भएको १३ औ दिनको पुण्य तिथिमा सोमबार शोकसभा गरिएको छ। काँग्रेस पोखरा लेखनाथ महानगरपालिका वडा न. ११ इकाइ समितिको व्यवस्थापनमा कास्की काँग्रेसले काँहु सिस्नेरीस्थित आचार्य निवासमा शोकसभा गरेको हो। शोकसभामा काँग्रेस नेता, कार्यकर्ता, शुभेच्छुक, आफन्त र परिवारजनको सहभागिता थियो।

शोक सभामा कास्की काँग्रेसले आचार्यका छोराछोरीको अध्ययनका लागि पाँच÷पाँच लाखको अक्षय कोष स्थापना गर्ने घोषणा गरेको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए। जिल्ला सदस्य सिग्देलका अनुसार, कास्की काँग्रेसले स्व. आचार्यको स्मृतिमा उत्कृष्ठ काम गर्ने नेता तथा कार्यकर्तालाई पुरस्कार प्रदान गर्ने गरी अक्षय कोष स्थापना गर्ने पनि तयारी गरेको छ।
नेपाली काँग्रेस पोखरा लेखनाथ महानगरपालिका वडा न. ११ इकाइ समितिले पनि छोराछोरीको अध्ययनका लागि एक लाखको अक्षय कोष स्थापना गरेको छ। स्व. आचार्यको चार वर्षिय छोरा रितिक र १० वर्षिया छोरी श्रेया छन्।

पार्टीबाट गरिएको सहयोगले काँग्रेस र परिवारवीचको अन्तरसम्वन्ध सदैव कायम रहिरहन सक्ने विश्वास गरिएको छ।
शोकसभामा काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका काँग्रेसजन सवै एउटा परिवार भएको उल्लेख गरे। उनले आचार्यले पार्टीमार्फत मुलुकको आर्थिक समृद्विका लागि देखेको सपना पूरा गर्न सवैले ध्यान दिन जरुरी भएको बताए।

नेता सोभियतबहादुर अधिकारीले आचार्यको निधन सवैका लागि असहज भएपनि सहनु पर्ने बाध्यता भएको उल्लेख गरे।
पूर्व आमन्त्रित केन्द्रीय सदस्य रामजी कुँवरले आचार्यको परिवारसँग पार्टी सदैव साथ रहने बताए। कार्यक्रममा कास्की काँग्रेसका सचिव सुदिपमोहन भट्टराई, पोखरा लेखनाथ महानगरपालिकाका सहसंयोजक राजेन्द्रमणि लामिछाने, क्षेत्र नं १ का सभापति बृजमान गुरुङ, नेपाल तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङ, काँग्रेस वडा न. ११ का सभापति बोधराज घिमिरे, नेतृ सरस्वती गुरुङ, पोखरा लेखनाथ महानगरपालिका वडा न. ११ का अध्यक्ष मोहन बास्तोला र परिवारको तर्फबाट खेमराज आचार्यले बोलेका थिए।

नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको शोकसभा सचिव रामराज लामिछानेले सञ्चालन गरेका थिए। हृदयघातका कारण जेठ १० गते उपसभापति आचार्यको निधन भएको हो।

कमेन्टहरु
Loading...