पौडेल विरुद्ध बागी बनेका कांग्रेस नेता गोविन्दराज जोशीको उम्मेदवारी रद्द

काठमाडौं,  १७ कात्तिक/निर्वाचन आयोगले तनहुँ क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता गोविन्दराज जोशीको उम्मेदवारी रद्द गरेको छ ।जोशीलाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको र त्यो मुद्दा अहिले पनि सर्वोच्चमा विचाराधिन रहेको भन्दै आयोगले जोशीको उम्मेदवारी रद्द गरेको हो । तनहुँ क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलले जोशी विशेष अदालतबाट २०६९ साल साउन १० गते भ्रष्टाचारी ठहर भएको र अदालतको फैसला अहिले पनि कायम रहेकाले जोशीले चुनाव लड्न नपाउने दावी गर्दै उजुरी गरेका थिए ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार अदालतबाट भ्रष्टाचारी ठहर भई जेल सजाय भोगेका व्यक्ति उम्मेदवार बन्न पाउँदैनन् ।विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएपछि जोशीले त्यो निर्णयविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेका छन् । जुन मुद्दा अहिले पनि सर्वोच्चमा विचाराधिन छ । यसैबिच,​ कांग्रेस नेता जोशीले उम्मेदवारी रद्द गरिनु अप्रजातान्त्रिक र गैरकानुनी काम भएको बताएका छन् । निर्वाचन आयोगबाट उम्मेदवारी खारेज भएपछि प्रतिक्रिया दिँदै नेता जोशीले अप्रजातन्त्रिक र गैरकानुनी रुपमा आफ्नो उम्मेदवारी खारेज भएको भन्दै आलोचना गरेका हुन् ।

आफू विरुद्धको निर्णयले बिधिको शासनको खिल्ली उडाएको भन्दै उनले यो गम्भीर घटना भएको टिप्पणी गरे ।जोशीले भोली दमौलीमा पत्रकार सम्मेलनको समेत आयोजना गर्ने बताए । निर्वाचन आयोगको निर्णय अनुसार उनको उम्मेदवारी रद्द गरिएको क्षेत्र नं. १ का मुख्य निर्वाचन अधिकृत अर्जुन प्रसाद कोइरालाले जानकारी दिएका छन् । तनहुँ क्षेत्र नं. १ को मुख्य निर्वाचन अधिकृतको कार्यालयले गोविन्दराज जोशी बाहेकका १२ उम्मेदवारको अन्तिम नामावली समेत टाँस गरेको छ ।

कमेन्टहरु
Loading...