जनताको सेवक हुँ, मलाई साथ दिनुस् ः बराल

पोखरा, १ मसिर /कास्की क्षेत्र नम्बर २ क मा काँग्रेसबाट उम्मेदवारी दिएका गुरुप्रसाद बरालले आफुलाई जनताको सेवकको रुपमा पेश गरेका छन् । उनी आफु जनताको सेवा गर्नकै लागि राजनीतिमा आएको समेत बताएका छन् ।

चुनावी घरदैलोको क्रममा रहेका बरालले यतिबेला आफ्नो प्रभाव मतदाताहरुमाझ छोडिरहेका छन् । उनी मतदाताहरुमाझ पुगेर आफ्नो पक्षमा भोट मागिरहेका छन् । केहि शहरी र ग्रामिण परिवेश रहेको उनको क्षेत्रमा रहेका सबै घरमा उनी पुग्ने योजनामा छन् । अहिले त्यहि शिलशिलामा घरदैलोलाई तीव्रता दिईरहेका छन् ।

उनले दुवै परिवेशका मतदाताहरुलाई आफ्नो पक्षमा पारिरहेका छन् । खासगरि शहरी र ग्रामिण क्षेत्रका लागि उनले छुट्टाछुट्टै गुरुयोजना तयार पारेर मतदाताहरुसमक्ष पुगेका छन् । र, प्रत्येक मतदाताको गुनासोलाई उनले सम्बोधन गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

केहि दिन अगाडि उनी भरतपोखरी पुगे । त्यहाँका मतदाताहरुसमक्ष उनले आफु निर्वाचित भएर सोहि क्षेत्रको विकासमा दत्तचित्त भएर लाग्ने प्रतिबद्धता जनाए । बराल बुधबार निर्मलपोखरी पुगे । साविक निर्मलपोखरी गाविसमा उनी पुग्दा त्यहाँका स्थानियहरु हर्षित देखिन्थे । युवा जोश र जाँगर बोकेका गुरु बराललाई आफ्नो प्रदेशको उम्मेदवार पाएका निर्मलपोखरीबासीले उनीसँगै केहि आश राखे ।

निर्मलपोखरीका बासिन्दाको गुनासो थियो, ‘हामीले भोट दिएर जिताएकाले हाम्रा माग पुरा गरेनन् । बरु आफ्नो बन्दोबस्तीमा ध्यान दिए । हाम्रो समस्या सम्बोधन गरिदिने आशमा छौँ । यो पटक गुरु बराललाई नै जिताउनेछौँ ।’ उनीहरुले केहि गुनासाका पन्तुरो फुकाए अनि बराललाई माया पनि दर्शाए ।

गुरु बराल पहिलोपटक चुनावमा उत्रिएका हुन् । ऐतिहासिक प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिएका गुरु बराल निकै सशक्त युवा नेता मानिन्छन् । काँग्रेस र काँग्रेस बाहिर पनि उनको उत्तिकै प्रभाव छ । निर्मलपोखरी पुगेका गुरु बरालले स्थानियसँग आफुले गफ नभई काम गरेर देखाउनकै लागि उम्मेदवारी दिएको बताए ।

‘म युवा हुँ । र, म मा केहि गर्ने जोश अनि जाँगर छ । त्यसैले रुख चिन्हमा भोट हालेर मलाई जिताउनुहोस् ।’ उनले भने–‘यस क्षेत्रको समस्यासँग म परिचित छु । र, यहाँको समस्याको समाधानसँगै समग्र सम्बृद्धिको गुरुयोजना मसँग छ ।’

त्योसँगै उनले अहिले लोकतन्त्रको अस्तित्व नै धरापमा पार्ने खेल भएकोले मतदाताले सोँचेर फैसला गर्नुपर्ने बेला आएको बताए । ‘यसअगाडि कसलाई भोट हाल्नुहुन्थ्यो भन्ने कुरा बिर्सनुस् । अहिलेको बेला लोकतन्त्रलाई बचाउने बेला हो । त्यसैले लोकतन्त्रको पक्षमा उभिएको काँग्रेसलाई भोट हाल्नुस् ।’ उनले भने–‘लोकतन्त्र बच्यो भने सम्बृद्धि जसै आउँछ ।’

कमेन्टहरु
Loading...