गण्डकी मेडिकल कलेजका विद्यार्थीहरुको मागप्रति विवेकशील साझा पार्टीको ऐक्यबद्धता

पोखरा, २४ माघ /विवेकशील साझा पार्टी गण्डकी प्रदेशले आन्दोलनरत गण्डकी मेडिकल कलेजका विद्यार्थीहरुको माग प्रति ऐक्यबद्धता जनाएको छ । उसले विद्यार्थीहरुको मागप्रति कलेजले तत्काल सम्बोधन गर्नुपर्ने बताएको छ ।

विवेकशील साझा पार्टी गण्डकीका सँयोजक महेश भण्डारीद्वारा जारी प्रेस विज्ञप्तीमा सरकारले तोकेको भन्दा पनि बढि शुल्क लिएर गण्डकी मेडिकल कलेजले मनपरी गरेको बताईएको छ ।

‘यो सरासर लुटतन्त्र हो । कलेजले विद्यार्थीमाथि गरेको यो अन्यायप्रति हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ ।’ विज्ञप्तीमा भनिएको छ–‘मनपरी शुल्कका विरुद्ध विद्यार्थीले गरेको आन्दोलनप्रति हाम्रो पार्टीले ऐक्यबद्धता जनाउँदै कलेजलाई तत्काल यस्ता हर्कत रोक्न आग्रह गर्दै प्रशासन समक्ष उचित छानविनको माग गर्दछ ।’

साथै विवेकशील साझा पार्टीले गण्डकी मेडिकल कलेजले विद्यार्थीलाई थप शुल्कको बिल भरपाई नदिएर करप्रणाली नमानेको दाबी समेत गरेको छ । कलेजले विद्यार्थीहरुलाई अन्याय गर्नुका साथै करप्रणालीमाथि नै प्रहार गरेकाले प्रशासनले आवश्यक छानविन गर्नुपर्ने उसको धारणा छ ।

काठमाडौं उपत्यकाबाहिर एमबिबिएस पढ्ने विद्यार्थीलाई ४२ लाख ४५ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने सरकारी नियम छ । यद्यपी विद्यार्थीहरुले ५५ लाख रुपैयाँभन्दा बढि शुल्क तिर्दै आएको बताएका छन् । हाल कलेजले शुल्क घटाउनुपर्ने माग सहित विद्यार्थीहरु आन्दोलित छन् ।

कमेन्टहरु
Loading...