संघीय संसदमा इयू निर्वाचन प्रतिवेदनको विरोध

काठमाडौं, १२ चैत/ सांसदहरुले नेपालको निर्वाचन पर्यवेक्षण सम्बन्धी युरोपेली युनियनको प्रतिवेदन प्रति चर्को विरोध गरेका छन् ।संघीय संसद भवन नयाँबानेश्वरमा आज बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा सत्तारुढ दलका सांसदहरुले युरोपेली युनियनले आफ्नो क्षेत्राधिकार बिर्सिएर नेपालको संविधान विपरीत अभिव्यक्ति दिएको भन्दै विरोध गरेका हुन् ।

विशेष समयमा नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले इयूको प्रतिवेदनले सार्वभौम सत्तासम्पन्न मुलकका जनताको अपमान भएको आरोप लगाएका छन् ।नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले युरोपेली युनियनको प्रतिवेदन नेपालको आन्तरिक मामिलालाई प्रभावित गर्ने गरी आएको भन्दै आपत्ति जनाएका थिए । यस्तै, नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले कसले–के प्रतिवेदन सार्वजनिक गर्यो ? भन्नेतिर नलागी संविधान कार्यान्वयनमा ध्यान दिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

तर, मधेस केन्द्रित दलले भने इयूको प्रतिवेदन हस्तक्षेप नभएको भन्दै समर्थन गरेका थिए ।राष्ट्रिय जनता पार्टी नेपालका सांसद लक्ष्मणलाल कर्णले लोकतन्त्र र मानव अधिकारको विषयमा मानव अधिकार प्रेमी कुनै पनि देशले बोल्न सक्ने बताए ।संघीय समाजवादी फोरम नेपालका सांसद राजेन्द्र श्रेष्ठले स्वतन्त्र राष्ट्रमाथि कसैको हस्तक्षेप स्वीकार्य नभएपनि लोकतन्त्र र मानव अधिकारको विषयमा यरोपेली युनियन बोल्नु स्वाभाविक भएको बताए ।बैठकमा कानुनमन्त्री शेरबहादुर तामाङले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग पहिलो संशोधन अध्यादेश २०७४ पेस गरेका थिए ।

कमेन्टहरु
Loading...