घरदैलोमा पुगी उमेद्वारलाई भोटमाग्दै काँग्रेसी महिलाहरु

पोखरा २८ कात्तिक /‘भोट हालौँ रुखमा, साथ दिन्छ सुख र दुःखमा ।’ अहिले घरदैलोमा पुगिरेका काँग्रेसका उम्मेदवारहरुको पछाडि महिलाहरुको एउटा झुण्ड यस्तै यस्तै गीत गाएर उनीहरुलाई साथ दिईरहेका छन् । नेपाली काँग्रेसको पक्षमा भोट माग्न महिला संघ सम्बद्ध महिलाहरु यतिबेला कस्सिएका हुन् ।

मादलको ताल सँगै गलामा सयपत्री फूलको माला,हातले चारतारे झण्डा फहराउँदै महिलाहरुको साथमा उम्मेदवारहरु पनि कम्मर मर्काई मर्काई नाचेपछि मानिसहरु अझै बढि आकर्षित हुने गरेका छन् । महिला दिदीबहिनीहरुलाई घरधन्दाको चिन्ता छैन यतिबेला । बरु उनीहरु त मादल,खैजडी ,मूजूरा र चार तारे झण्डा बोकेर पोखरा लेखनाथका मतदाताहरुको घरदैलोमा उम्मेदवारहरुसँगै पुगिरहेका छन् ।

सेड्युल अनुसार कुन ठाऊँमा जाँदा कस्तो प्रकृतिको गीत गाउने ? भन्ने विषयमा उनीहरु अघिल्लो दिन नै तम्तयारी गरिसक्छन् । ब्राम्हण क्षेत्रीको बाहुल्यता भएको वस्ती भएको ठाऊँमा भजन चुड्का गाईहाल्छन् भने गुरुङ समुदायको बाहुल्यता भएको स्थानमा पुग्दा त्यहि सँस्कारभित्रको लोकभाका शुरु गरिहाल्छन् । काँग्रेसी महिलाहरुको भोट माग्ने यो शैलीले यतिबेला निकै चर्चित बनेको छ । मानिसहरु दंग परेर काँग्रेसको नाचगानमा सरिक हुन्छन् । कतिपय त अझै उनीहरुसँगै भाका मिलाएर कम्मर मर्काई मर्काई नाच्छन् ।

‘गीतसंगीत भन्ने कुरा हरेकलाई मन पर्ने कुरा हो । र, यसले मानिसलाई आफुतर्फ तान्न पनि मद्दत गर्छ ।’ नेपाल महिला संघ पोखराका नगर सभापति माया बरालले भनिन्–‘केहि फरक शैलीका साथ काँग्रेसको प्रचारलाई तीव्रता दिऊँ भन्ने लागेर नै हामीले यसो गरेका हौँ ।’ भाषणबाट भन्दा गीत संगीतबाट मतदातालाई लोकतन्त्र र काँग्रेसको बारेमा भन्न अझै बढि सजिलो भएको उनको अनुभव छ ।

घरदैलोमा पुगी उमेद्वारलाई भोटमाग्दै काँग्रेसी महिलाहरु
घरदैलोमा पुगी उमेद्वारलाई भोटमाग्दै काँग्रेसी महिलाहरु

‘अहिलेका मतदाताहरु भाषण भन्दा पनि यस्तै मनोरञ्जनात्मक कुराबाट सन्देश लिन माहिर छन् । त्यसैले हामीले यो शैली अपनाएका हौँ ।’ कास्की महिला संघकी सचिव सिता गुरुङले भनिन् । कास्की क्षेत्र नं १ का प्रतिनिधीसभा सदस्य एवं कानुनमन्त्री यज्ञबहादुर थापाले महिलाहरुको यो शैलीले प्रचारप्रसारमा निकै महत्व राखेको बताए । ‘महिला दिदीबहिनीहरुको सहयोग हरेक चुनावमा हुँदै आएको हो । तर झन् यो पटक त अझै बढि प्रभावकारी रुपमा महिला दिदीबहिनीहरुको प्रचार भएको देख्दा निकै खुशी लागेको छ ।’

त्यस्तै क्षेत्र नम्बर २ का उम्मेदवार देवराज चालिसेले महिलाहरुलाई गीतमार्फत नै लोकतन्त्र र अधिनायकबादबीचको भिन्नता छुट्टाउनका लागि आग्रह गर्न महिलाहरुलाई आग्रह गरे । ‘महिलाहरुको योगदान लोकतन्त्र प्राप्तिको आन्दोलनमा सदैव अतुलनीय रह्यो । अब फेरि बेला भएको छ, यो बेलामा फेरि महिलाहरु जागरुक बन्नुपर्ने देखिन्छ ।’ उनले भने । त्यस्तै कास्की क्षेत्र नम्बर ३ का उम्मेदवार शुक्रराज शर्माले महिलाहरुको प्रचारशैली निकै रोचक भएकाले आफुहरुलाई अझै बढि सजिलो भएको अनुभव सुनाए ।

कास्की काँग्रेसबाट प्रत्यक्ष प्रदेशसभा उम्मेदवारका लागि उम्मेदवारी दिएकी महिला नेतृ शारदा पौडेलले महिलाहरुको प्रचार शैलीले काँग्रेसको पक्षमा अझै बढि माहौल सिर्जना गरेको दाबी गरिन् । ‘काँग्रेसी महिलाहरुको प्रचारशैलीले अन्य विचारमा आस्था राख्नेहरुलाई पनि आकर्षित गरिरहेको मैले पाएकी छु ।’ नेतृ पौडेलले भनिन् ।

त्यस्तै महिलाहरुले प्रदेशसभामा उम्मेदवारी दिएका गुरुप्रसाद बराल, कृष्ण केसी, जीवन परियार, बिन्दुकुमार थापा, शिकन्दर गुरुङ ‘भोजबहादुर’ लाई पनि प्रचारमा महिलाहरुको उत्तिकै साथ रहेको नपाल महिला संघ कास्कीले जनाएको छ ।

कमेन्टहरु
Loading...