काग्रेसलाई संसदबार सिकाउन आवश्यक छैनः कांग्रेस प्रवक्ता शर्मा

पोखरा, १८ माघ /नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संसदको सर्वोच्चताबारे कांग्रेसलाई पाठ नपढाउन कम्युनिष्टलाई चेतावनी दिएका छन् । नेपाल प्रेस युनियन कास्की शाखाले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले जुंगाको रेखी बस्नुभन्दा अघिदेखी नै कम्युनिष्ट बनेकाहरुले प्रजातान्त्रिक अभ्यास भित्र पर्ने संसदको सर्बोच्चताबारे कांग्रेसलाई पाठ पठाउन आवश्यक नरहेको बताए छन् ।

बिहीबार नेपाल कम्युनिष्ट पार्टीका सचेतक देब गुरुङले कांग्रेसले कसैको उक्साहटमा संसदलाई फ्लप पार्नका लागि संसद अवरुद्ध गर्दै आएको बताएका थिए । गुरुङको भनाईको प्रतिवाद गर्दै प्रवक्ता शर्माले भने,‘हिजो कुर्सी तोडफोड र ब्रिफकेस खोस्ने काम गर्नेहरुले कांग्रेसलाई संसदको सर्बोच्चताबारे पाठ पढाउन आवश्यक छैन, कांग्रेस प्रजातन्त्र र संसदको सर्बोच्चताबारे आफै जानकार छ ।’

उनले बहुमतको आडमा विवेकलाई बन्धक बनाएर चिकित्सा शिक्षा विधेयक ल्याएको टिप्पणी गरे । बहुमतको बिरोध आफूहरुले नगरेको स्पष्ट पार्दै आफैले गरेको सम्झौता पालना नगरेकाले संसद अबरुद्ध गर्नुपरेको उनको भनाई थियो ।

कांग्रेस प्रवक्ता शर्माले चिकित्सा शिक्षा विधेयक तोडमरोड गरी ल्याएको भन्दै त्यसको बिरोधमा २४ दिनदेखी अनसनरत डा.गोविन्द केसीलाई अनसन तोड्न आग्रह गरे । केसीको माग कांग्रेसको पनि भएको बताउँदै उनले भने,‘तपाईंको मुद्धा हाम्रो पनि मुद्धा हो, हामी तपाईंको मुद्धा बोक्छौं, तपाईं अनसन तोड्नुस् ।’

सरकारले डा.केसीको मागप्रति बेवास्ता गर्नुका साथै अनसन तोडाएर जीवन रक्षा गर्नका लागिपनि चासो नदेखाएकाले कांग्रेस सभापति शेरबहादुर देउवाले केसीलाई बचाउने उद्धेश्यले अनसन तोड्न आग्रह गरेको प्रष्ट पारे ।

प्रवक्ता शर्माले प्रधानमन्त्रीलाई कमजोरी सच्याउन आग्रह गरे । कमजोरी सच्याउन प्रचण्डबाट सिक्न सुझाव दिदै उनले भने,‘हिजो कटुवाल काण्डलगायतमा गरेको कमजोरी प्रचण्डले सच्याएका थिए, आज प्रधानमन्त्रीकै पार्टीको आधा अध्यक्ष प्रचण्ड कमरेड ओलीजीसँगै हुनुहुन्छ, उहाँबाट सिके हुन्छ कमजोरी सच्याउन, नत्र कांग्रेसबाट सिकेपनि हुन्छ ।’

कमेन्टहरु
Loading...