CAN

महानगरका प्रत्येक वस्ती समेट्ने गरी योजना अघि बढाइने

54

पोखरा, २२ बैशाख । नेपाली काँग्रेसका तर्फबाट पोखरा लेखनाथ महानगरपालिकाको प्रमुख पदका उम्मेदवार रामजी कुँवरले महानगरका प्रत्येक वस्ती समेट्ने गरी विकास निर्माणका योजना अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं १९ लामाचौरमा आज घरदैलो कार्यक्रममा सहभागी हुँदै उहाँले समृद्ध पोखरा निर्माण आफ्नो मुख्य उद्देश्य भएको र महानगरका कुना कुनामा रहेका वस्ती समेतको विकासले मात्रै पोखराको समुन्नति सम्भव हुने उल्लेख गर्नुभयो ।

महानगर भित्रका खानेपानी , सरसफाई, बाटोघाटो लगायतका समस्या समाधान गर्दै पोखरालाई अन्तराष्ट्रिय स्तरको नमूना सहरका रुपमा विकास गर्ने सोचका साथ नै आँफू प्रमुख पदको उम्मेदवार भएको उहाँले स्पष्ट पार्नुभयो ।

निर्वाचनको मिति नजिकिदै गर्दा नेपाली काँग्रेस सहित नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका राजनीतिक दलले महानगरभित्र आफ्नो चुनाव प्रचारप्रसार कार्यक्रमलाई तिव्रताका साथ अघि बढाएका छन् ।