विवेकशील साझाको होलीः ‘सत्यको राजनीतिबाट जनताको मुहारमा खुशी ल्याउँछौँ’

पोखरा, ७ चैत/अघिल्ला वर्षहरुभन्दा यो पटक होलीको माहौल पोखरामा निकै बढेको देखियो । युवायुवतीहरु होलीको रंगसँगै सडकमा देखिए । विशेषगरि लेकसाइड क्षेत्रमा होलीको भीड थेगिनसक्नु देखिन्थ्यो ।

रंग खेल्दै गरेको भीडले ‘होली सँस्कार’ बढेको पुष्टी गर्छ । विभिन्न समूहमा रंग लगाएर आपसमा रमाईलो गर्ने परम्पराको रुपमा स्थापित भैरहेको होली यो पटक राजनीतिक सद्भाव साटासाट गर्ने माध्यम पनि बन्यो । होलीकै अवसरमा मुलधारका राजनीतिक समूह देखि वैकल्पिक धारका राजनीति गरिरहेका समूह आपसमा सद्भाव साटासाट गरे ।

बुधबार होलीको अवसर पारेर विवेकशील साझा पार्टी गण्डकी प्रदेश र कास्की शाखाले कार्यकर्तामाझ खुशी साटासाट गरे । विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य शुशीला केसी अधिकारी, गण्डकी प्रदेश सँयोजक महेश भण्डारीसहित जिल्लास्तरिय नेता तथा कार्यकर्ताहरु एकै ठाऊँमा उपस्थित भएर होली खेलेका थिए ।

लेखनाथस्थित अर्घौँचोकमा विवेकशील साझा पार्टीले होली ‘सेलिब्रेशन’ गरेको थियो । होलीसँगै राजनीतिक हिसाबले नेपाली जनतामाझ खुशीको रंग छाउन सकोस् भन्ने विवेकशीलका नेता कार्यकर्ताहरुले शुभकामना दिएका थिए ।

‘असत्यमाथि सत्यको विजय भएको पर्वको रुपमा होलीलाई लिईन्छ । र, नेपाली राजनीतिमा अहिले सत्य भन्दा पनि असत्यको जगजगी देखिएको छ ।’ विवेकशील साझा पार्टी गण्डकी प्रदेश सँयोजक महेश भण्डारीले भने–‘हामी नेपाली जनतालाई सत्यको राजनीति गरेर देशको सम्बृद्धि देखाउन चाहन्छौँ । यो होलीको सन्देश पनि त्यहि हो ।’

यसैबीच विवेकशील साझा पार्टीले पोखरामा विकल शेरचनको विशेष कार्यक्रमको आयोजना गरेको छ । पार्टीको जिल्ला शाखा कार्यालय सृजनाचोकमा यो शुक्रबार नेतृत्व तथा व्यक्तित्व विकास सम्बन्धि प्रशिक्षण गर्ने उसले जनाएको छ । प्रशिक्षकको रुपमा पोखरा आउन लागेका शेरचन विवेकशील साझा पार्टीका केन्द्रीय प्रशिक्षण विभाग सदस्य पनि हुन् ।

कमेन्टहरु
Loading...