Ganthan News Pokhara
All news from Pokhara & around

‘भ्रष्टाचार कहिलेसम्म ? जनता सचेत नभएसम्म’

‘भ्रष्टाचार कहिलेसम्म ? जनता सचेत नभएसम्म’
0

पोखरा, ७ बैशाख /विवेकशील साझा पार्टीले सार्वजनिक स्वामित्वमा रहेको बहुमुल्य जग्गा राजनीतिक नेतृत्व, कर्मचारी, व्यवसायी र ‘भूमाफिया’को मिलेमतोमा अपचलन भएकोप्रति खबरदारी गर्दै आएको छ ।

एक हप्ताअघिदेखि सुरु भएको अभियान अन्तर्गत शनिबार देशभर खबरदारी कार्यक्रम गरिएको छ । प्रधानमन्त्री निवास समेत रहेको बालुवाटार क्षेत्रको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी हुनु र हायात होटलले सयौं रोपनी सरकारी जग्गा अपचलन गरेकोमा यसले भूमाफिया गिरोहको शक्ति र पहुँचको डरलाग्दो संकेत गरेको उक्त पार्टीले जनाएको छ ।

विवेकशील साझा पार्टी, गण्डकीले शनिबार पोखराको सिर्जनाचोकमा खबरदारी कार्यक्रम आयोजना गरेको हो । यहाँ स्थित पार्टीका क्रियाशील सदस्य तथा शुभेच्छुकहरुको सहभागिता रहेको संयोजक दीपक पौडेलले बताए ।

उनीहरुले ‘भ्रष्टाचार कहिलेसम्म ? जनता सचेत नभएसम्म’, ‘चर्को स्वरमा बोलौं, भ्रष्टाचारीको पोल खोलौं’, ‘भ्रष्टाचारी जेल परुन्’, ‘भ्रष्टाचारी देखिए, सरकार देखिएन’, ‘समाजवाद नांगियो, माफियातन्त्र झांगियो’, बालुवाटार बेच्नेले सिंहदरबार पनि बेच्लान्’ जस्ता प्लेकार्ड प्रदर्शन गरेका थिए ।

जग्गा सम्बन्धमा आवश्यक अनुसन्धान गरी सरकारी सम्पत्तिको संरक्षण गर्न र दोषीलाई कारवाहीको दायरामा ल्याउन विवेकशील साझाले आग्रह गरेको छ ।

Get real time updates directly on you device, subscribe now. (अपडेटहरू सिधै तपाइँको ब्राउजरमा प्राप्त गर्न सब्स्क्राइब् गर्नुहोस्।

अरु सम्बन्धित खबरहरु