वामदेव गौतमले भनेः रवीन्द्र अधिकारीको निर्वाचन क्षेत्रमा चुनाव लड्दिनँ

काठमाडौं, ५ असोज / नेकपाका उपाध्यक्ष वामदेव गौतमले मंसिर १४ मा हुने उपनिर्वाचनमा कास्की क्षेत्र नम्बर २ बाट उमेद्वार नबन्ने घोषणा गरेका छन् । गौतमले शनिबार बसेको पार्टीको सचिवालय बैठकमा स्वर्गीय रवीन्द्र अधिकारीको निर्वाचन क्षेत्रमा उम्मेदवारी नदिने घोषणा गरेका हुन् ।

ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा अधिकारीको निधिनपछि कास्की २ खाली छ । ‘मलाई कास्कीबाट निर्वाचनमा भाग लिन अनुरोध गर्नुहुने हाम्रो पार्टीका आदरणीय अध्यक्षद्वय कमरेडसहित पार्टीका समस्त सहयोद्धाप्रति हार्दिक आभार प्रकट गर्दछु’, उनले भनेका छन् ।

उनले निर्वाचन क्षेत्रमा आफूले उम्मेदवारी दिँदा पराजित हुन सक्ने भय पनि व्यक्त गरे । ‘यसअघि प्रतिनिधिसभा सदस्य पदका लागि आफ्नो पुरानो निर्वाचन क्षेत्र बर्दिया–१ बाट उम्मेदवार भएको यहाँहरुमा विधितै छ। उक्त निर्वाचनमा तत्कालीन वाम गठबन्धनसँग विपक्षीको तुलनामा ३२ हजार मत बढी थियो’, उनले भने, ‘तर, म पराजित हुनुपर्यो।

त्योभन्दा अत्यन्त कम मतान्तर रहेको कास्कीमा निर्वाचन उठ्नु भनेको म फेरि पराजित हुनु हो। तर मलाई विश्वास छ मभन्दा अरू कोही स्थानीय कमरेड उठ्नु हुँदा सहजै विजय प्राप्त गर्नसक्नु हुनेछ।’ उनले स्थानीय नेतालाई निर्वाचनमा भाग लिन पहिलो हक भएको बताएका छन् ।

यस्तो छ वामदेव गौतमको भनाइ जस्ताको तस्तै

मेरा समस्त शुभचिन्तक महानुभावलाई जानकारीका लागि

आज बसेको हाम्रो पार्टीको सचिवालय बैठकलाई मैले आफू कास्की जिल्लाको रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी नदिने जानकारी गराएको छु । मलाई त्यहाँबाट निर्वाचनमा भाग लिन अनुरोध गर्नुहुने हाम्रो पार्टीका आदरणीय अध्यक्षद्वय कमरेड सहित पार्टीका समस्त सहयोद्धाप्रति म हार्दिक आभार प्रकट गर्दछु ।

यसअघि (२०७४ मा) प्रतिनिधिसभा सदस्य पदका लागि आफ्नो पुरानो निर्वाचन क्षेत्र बर्दिया( १ बाट उम्मेदवार भएको यहाँहरुमा विदितै छ । उक्त निर्वाचनमा तत्कालीन वाम गठबन्धनसँग विपक्षीको तुलनामा ३२ हजार मत बढी थियो । तर, म पराजित हुनुपर्यो । त्योभन्दा अत्यन्त कम मतान्तर रहेको कास्कीमा निर्वाचन उठ्नु भनेको म फेरि पराजित हुनु हो ।

तर मलाई विश्वास छ म भन्दा अरुकोही स्थानीय कमरेड उठनु हुदा सहजै विजय प्राप्त गर्र्न सक्नु हुनेछ। कास्कीको निर्वाचनमा त्यहाँका स्थानीय कमरेडहरु उम्मेदवारीका निम्ति पहिलो हकदर हुनुहुन्छ । यसर्थ म कास्कीलाई कार्यक्षेत्र बनाएर पार्टी काम गरिरहनु भएका कमरेडमध्येबाट उम्मेदवार हुनुपर्ने कुरामा आफ्नो स्पष्ट अडान पेश गर्दछु ।

वामदेव गौतम
४ आश्विन २०७६

कमेन्टहरु
Loading...