एमालेको एउटै क्षेत्रमा २ जनालाई टिकट

बागलुङ, १६ असोज/मंसीर ४ गते हुने दोश्रो संविधान सभाको निर्वाचनको लागि नेकपा एमाले केन्द्रीय कमिटीले बागलुङ जिल्ला क्षेत्र नं. १ को लागि २ जनालाई उमेदवारको टिकट दिएपछि विवाद सिर्जना भएको छ ।

बागलुङ जिल्लाको क्षेत्र नं. १ को लागि मन कुमारी के.सी.लाई पार्टी अध्यक्ष झलनाथ खनालले टिकट दिएर पठाएको एकघण्टा नबित्दै हिरा के.सी.लाई टिकट दिएर पठाएपछि पार्टीको आधिकारिक उमेद्वार को हो भन्ने बारे विवाद भएको छ । झलनाथ खनालबाट संविधान सभाको लागि टिकट पाएका मनकुमारी के.सी.ले एमाले पार्टी कार्यालय बागलुङमा पत्रकार भेटघाट गरी आफु माथि अन्याय भएको भन्दै पार्टी केन्द्र प्रति आक्रोस पोखेकी थिइन् ।

पार्टीले महिला माथि हिंसा गरेको आफुलाई टिकट दिएर पनि केही घण्टा नबित्दै अर्को उम्मेदवारलाई टिकट दिनु गलत काम भएको भन्दै सो त्रुटि सच्याउन संचार माध्यमबाट अनुरोध गरेकी थिइन् । क्षेत्र नं. १ बाट संविधान सभाको लागि सिफारिस भएकी मनकुमारी के.सी.ले पैसा खाएर टिकट बेचेको आरोप लगाइनु दुःखको विषय भएको समेत उनले बताइन् ।

नेकपा एमालेले बागलुङ जिल्लाको क्षेत्र नं. १ को लागि ऋषिराम शर्मा, मनकुमारी के.सी. र हिरा के.सी.को नाम टिकटको लागि सिफारिस गरेको थियो ।एमाले क्षेत्री कमिटीका सदस्य देवका कार्कीले मनकुमारीले पाएको टिकटपुन अर्को व्यक्तिलाई दिनु अन्याय भएको बताइन् । एमाले पार्टीका सचिवालय सदस्य विष्णु भुषालले पार्टीले गरेको आधिकारीक निर्णयको आधारमा आफुहरु चुनावमा जाने बताए ।

बागलुङ जिल्लाको क्षेत्र नं. ३ मा मोहनलाल शर्माको ठाउँमा शान्ति अधिकारीलाई टिकट दिएको छ भने क्षेत्र नं. २ को लागि डा.सूर्य पाठकलाई दिएको छ । नेकपा एमाले अञ्चल कमिटीका सदस्यहरु टिकट विवादलाई लिएर एमाले केन्द्रिय कार्यालय काठमाडौंमा डेलिगेशन गएका छन् । पार्टीले गरेको निर्णय बारे आफुले मिडीयामा नबोल्ने एमाले पार्टी अध्यक्ष श्रीप्रसाद शर्माले बताए ।

कमेन्टहरु
Loading...