पोखरा महानगरपालिका वडा नम्वर ३० मा मेलमिलाप केन्द्र स्थापना,वडा कार्यालयको शिलान्यास

पोखरा ,६ पुस । पोखरा महानगरपालिका वडा नम्वर ३० मा मेलमिलाप केन्द्र स्थापना भएको छ । वडा तहमै विवाद समाधान गर्ने उद्देश्यले वडामा मेलमिलाप केन्द्र स्थापना गरिएको हो । वडाभित्र हुने विवादलाई वडा तहबाटै समाधान गर्ने गरि महानगरको न्यायिक समितिले मेलमिलाप केन्द्र स्थापना गरेको हो । पोखरा महानगरका कार्यबाहक प्रमुख एवं न्यायिक समितिका संयोजक मञ्जुदेवी गुरुङले बुधबार वडा नम्वर ३० को वडा कार्यालयमा मेलमिलाप केन्द्रको उद्घाटन गरिन् ।

उनले वडा तहमा हुने विवादलाई वडा तहबाटै समाधान गर्ने उद्देश्यले मेलमिलाप केन्द्र स्थापना गरिएको बताइन् ।मेलमिलाप मार्फत वडाबाटै विवाद समाधान गर्न सके महानगर सम्म पुग्न नपर्ने अवस्था सृजना गर्न वडामा मेलमिलाप केन्द्र स्थापना गरिएको बताइन् । सिहदरबारको अधिकार गाँउगाँउमा भनेजस्तै विवाद समाधानका लागि वडा वडामै मेलमिलाप केन्द्र स्थापना गरेको छौ उनले भनिन्, ‘अव वडामै रहेका मेलमिलापकर्ता मार्फत विवादको समाधान हुन्छ र महागनरसम्म विवाद आउने छैनन् भन्ने विश्वास हामीले लिएका छौं ।’ उनले मेलमिलाप मार्फत विवाद समाधान गर्दा समाजमा पक्ष विपक्ष दुवै जित्ने अवस्था सृजना हुने बताइन् ।

महागनर न्यायिक समिति सदस्य पार्वती कार्कीले न्यायिक समितिले पछिल्लो समय गति लिएको बताउदै मेलमिलापकर्ता सुचिकृत, इजालस बाटै छलफल र आदेशका साथै मेलमिलापकर्ता मार्फत विवाद समधान सुरु गरेको बताइन् । उनले महागनरबाट मेलमिलापकर्ता मार्फत विवाद समाधन सुरु गरेसंगै वडावडामा मेलमिलाप केन्द्र स्थापनाको काम सुरु गरिएको बताउदै उनले वडामा केन्द्र खोल्नका लागि ३ जना मेलमिलापकर्ता आवश्यक हुने भएकाले महागनरका १० वटा वडामा पहिलो चरणमा केन्द्र स्थापना गर्ने र बाँकीमा दोश्रो चरणमा गरिने जानकारी दिइन् ।

न्यायिक समितिका अभिलेख संरक्षक राममणी अधिकारीले न्यायिक समितिको कार्यक्षेत्र, न्यायिक समितिले निरुपण गर्ने विवाद, मेलमिलापकर्ता छनोटका आधार र मेलमिलापकर्ताले गर्नुपर्ने विषयमा जानकारी गराएका थिए । कार्यक्रममा वडा नम्वर ३० मा रहेका चार जना मेलमिलापकर्तालाई परिचयपत्र, कमल र डयारी प्रदान गरिएको थियो भने वडा सचिव दुर्गा न्यौपानेलाई वडामा आएका विवादहरुका बारेमा ब्यवस्थि गर्न माइन्यूट लगायतका आवश्यक सामाग्री न्यायिक समिति संयोजक मञ्जुदेवी गुरुङले हस्तान्तरण गरेकी थिइन् । कार्यक्रम वडा अध्यक्ष श्रीराम पोखरेलको अध्यक्षतामा भएको थियो । न्यायिक समितिले ८८ जना मेलमिलाकर्ता छनोट गरेको छ । वडामा मेलमिलापक केन्द्र स्थापना गर्न तिन जना मेलमिलापकर्ता हुनेपर्ने ब्यवस्था रहेको छ । यसअघि वडा नम्वर ७ मा केन्द्र स्थापना भएको छ ।

वडा कार्यालयको शिलान्यास

पोखरा महानगरपालिका वडा नम्वर ३० को वडा कार्यालयको बुधबार शिलान्यास गरिएको छ । पोखरा महानगरका कार्यबाहक प्रमुख गुरुङले वडा कार्यालयको शिलान्यास गरिन् । वडाको आफनै कार्यालय नहुदाँ सेवा प्रवाहमा समस्या भएको र सामुदायिक भवनमा बस्नुपर्ने अवस्था रहेको छ ।शिलान्यासपछि बोल्दै उनले सिहदबारको अधिकार जनताको घरदैलोबाटै उपलब्ध गराउने उद्देश्यले महागनरले धेरै अधिकार वडामा प्रत्यायोजन गरेको बताउदै वडा कार्यालयहरु पनि सुविधा सम्पन्न हुनुपर्ने बताइन् । वडा पनि सरकार हो, त्यसैले धेरै अधिकार महानगरले प्रत्यायोजन गरेको छ उनले भनिन,–‘राजस्व संकलन, घरनक्सापास र योजना सम्झौता लगायतका अधिकार महानगरले वडालाई दिएको छ ।’

वडा कार्यालयहरु अपाङ्गमैत्री, पार्किङको ब्यवस्था सहित सुविधा सम्पन्न हुनुपर्ने र जनताले सहज र सरल रुपमा वडाबाट सेवा प्राप्त गर्नसक्ने वातावरण बनाउन महानगर लागि परेको बताइन् । वडा कार्यालय २ करोड ४२ लाखको लागतमा निर्माण हुने र १५ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको वडा अध्यक्ष श्रीराम पोखरेलले जानकारी दिए । उनका अनुसार भवनको तल्लो तलामा पाँच कोठा र माथिल्लो तलामा सभाहल सहित तीन कोठा गरि आठ कोठा रहने छन् । अध्यक्ष पोखरेलले वडाभित्र हुने विकासका काममा सवैको सहयोग र साथ पाउने अपेक्षा गरे । ‘सवै राजनीतिक दलको सहकार्यमा आफुले काम गर्ने बताउदै कानुनभित्र रहेर गर्ने काममा सवैको सहयोग खाँचो छ ।’

कार्यक्रममा नेकपाका नगरका प्रतिनिधि मोहन गुरुङ, नेपाली काँग्रेसका नगर सचिव ध्रुव अधिकारी, नेकपा वडा नम्वर ३० का अध्यक्ष दयाराम तिवारी, काँग्रेस वडा सभापति नीरलाल तझ्या, प्रदेश ट्राफिक प्रहरी प्रमुख विरेन्द्र बस्याल, इलाका प्रशासन कार्यालय लेखनाथका प्रमुख चित्राङ्गत बराल, नाडाकोनाक इलाका प्रहरी कार्यालयका प्रमुख महोन खाँड, टोल विकास समन्वय संस्थाका अध्यक्ष खेमराज बास्तोला, वडा सदस्य सोमलाल कडेल लगायतले सकरात्मक काममा सवैको साथ र सहयोग रहने बताए । कार्यक्रम वडा अध्यक्ष श्रीराम पोखरेलको अध्यक्षतामा भएको थियो भने संचालन वडा सचिव दुर्गा न्यौपानेले गरेकी थिइन् ।

कमेन्टहरु
Loading...