मतदाताको टुंगो लाग्यो, १ करोड ४० लाख भन्दा बढीले भोट हाल्न पाउने

काठमाडौं, चैत २०/निर्वाचन आयोगले स्थानिय तहको चुनावको लागि मतदाताको अन्तिम टुंगो लगाएको छ । आयोगका अनुसार चुनावको लागि एक करोड ४० लाख ५४ हजार चार सय ८२ जना मतदाताको टुंगो लगाइएको निर्वाचन आयोगका प्रबक्ता सूर्य प्रसाद शर्माले जानकारी दिए । वि.सं. २०७३ फागुन ९ गते १८ वर्ष उमेर पुगेका र निर्वाचन कार्यालयमा नाम दर्ता गराएका व्यक्तिलाई निर्वाचन आयोगले मतदाताका रुपमा मान्यता प्रदान गरेको छ ।

आयोगका अनुसार कुल मतदाता मध्ये पुरुषको संख्या ७० लाख ६९ हजार ७१४ र महिला मतदाताको संख्या ६९ लाख ८४ हजार ६२५ रहेको छ ।  त्यस्तै, १४३ जना तेस्रोलिंगी मतदाता संख्या कायम रहेको आयोगले जनाएको छ ।आयोगका अनुसार सबैभन्दा बढी मतदाता मोरङमा पाँच लाख ६३ हजार ८७० रहेका छन् भने मनाङमा सबैभन्दा थोरै पाँच हजार ९५ मात्र मतदाता कायम रहेका छन् । मतदाताको विस्तृत विवरण सबै जिल्ला निर्वाचन कार्यालयलाई आइतबार नै पठाइएको र केहि दिन भित्रमा आयोगको वेवसाइटमा राखिने उनले बताए ।

मतदाताको नामावली आगामी वैशाख १० गतेभित्रै सबै जिल्लामा पुर्‍याइसक्ने जनाइएको छ ।  मतदाता नामावलीको अन्तिम टुंगो लागिसकेकोले आइतबार रातिदेखि मतदाता परिचयपत्र छपाइको काम पनि सुरु हुने उनले जानकारी दिए । दुर्गम जिल्लाका मतदाता परिचयपत्रलाई प्राथमिकता दिएर छाप्ने र छाप्ना साथ जिल्ला पठाउने आयोगको तयारी छ । मतदाता परिचयपत्र छाप्न निर्वाचन आयोग परिसरमा मेसिन सञ्चालन गरिनेछ ।

कमेन्टहरु
Loading...