कुर्सिको हानथापमा म छैन– प्रधानमन्त्री

कुर्सिको हानथापमा म छैन– प्रधानमन्त्री
सरकारलाई काम गर्ने अवसर दिनुपर्छ– व्यवसायी
काठमाण्डौ, १४ असार

राष्ट्रिय सहमतिको पहल गर्नको लागि नागरिक समाजका अगुवा, विभिन्न दलका युवा नेताहरु सँग छलफल गरि सक्नु भएका प्रधानमन्त्री डा. बावुराम भट्टराईले बिहिबार नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डल सँग छलफल गर्नुभएको  छ ।
छलफलको क्रममा प्रधानमन्त्रीले सहमति र निकासको लागि उद्योगि व्यवसायीहरुको तर्फबाट पनि पहल हुनुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्रीको कुर्सिको हानथापमा आफु नभएको बताउँदै उहाँले सहमति खोज्न आफु सँधै तत्पर भएको उल्लेख गर्नु भयो । दलहरुले अहिले आवेग र आक्रोस पोखे पनि निकासको लागि सहमतिमा आउने प्रधानमन्त्रीको विश्वास थियो । प्रधानमन्त्रीले मुर्त सहमति आजको आवश्यकता भएको बताउँदै सर्वोच्चको आदेशमा टेकेर संविधानसभाको निर्वाचनको घोषणा गरेको बताउनु भयो । उहाँले निर्वाचनको अर्को विकल्प नभएको पनि स्पष्ट पार्नुभयो ।

देश विकास, आर्थिक सम्वृद्धिको लागि आफु सँधै प्रतिवद्ध रहेको बताउँदै उहाँले यसो भएमा मात्र गरिवी, वेरोजगारी असमानता जस्ता विषयको अन्त्य हुने औल्याउनु भयो । दुई अंकको आर्थिक बृद्धिलाई पच्छ्याउनु पर्नेमा जोड दिँदै प्रधानमन्त्रीले आर्थिक विकासको नेतृत्व नीजि क्षेत्रले गर्न जरुरी भएको बताउनु भयो । सरकार र नीजि क्षेत्र बीच एक आपसमा सहकार्य गरेर अगाडि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

बजेटको कुरामा धेरै अल्मलिन नहुने बताउँदै प्रधानमन्त्रीले पूर्ण बजेटनै ल्याउनु पर्ने बताउनु भयो । बजेटको विषयमा अन्य दलहरुको पनि त्यति धेरै फरक मत नभएको उहाँको भनाई थियो । अध्यादेश मार्फतनै बजेट ल्याईने पनी उहाँले बताउनु भयो । उद्योग धन्दा बन्द हुने कुरा चिन्ताको विषय भएको बताउँदै उहाँले बन्द उद्योग खुलाउन राज्यले सवै पहल गर्ने बताउनु भयो । उद्योग बन्दा गर्दा राज्य, व्यवसायी र जनता कसैलाई पनि फाईदा नपुग्ने उहाँको धारणा रहेको थियो । रुग्ण उद्योगहरुलाई पनि खुलाउने तर्फ सरकार रहेको उहाँको भनाई थियो ।

उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यले संक्रमणकालिन अवस्था लामो हुँदा नीजि क्षेत्र प्रभावित बन्दै गइरहेकोले तत्काल निकासको लागि लाग्नुपर्ने बताउनु भयो । सहमति, समझदारीमा नै निकास खोज्नुपर्ने उहाँको धारणा थियो । बजेटको अन्यौलता पनि हट्नुपर्नेमा उहाँको जोड थियो । महासंघका पुर्व अध्यक्ष चण्डीराज ढकालले औद्योगिक विकास हुन सकेन भने देश विकास हुन नसक्ने बताउनु भयो । उहाँले विकासको लागि राजनीतिक स्थायित्व हुनुपर्नेमा जोडि दिनुभयो ।

छलफलमा सहभागि व्यवसायीहरुले प्रधानमन्त्रीलाई पूर्ण बजेट ल्याउनको लागि सुझाव दिएका थिए । उनिहरुले प्रधानमन्त्री जो सुकै भए पनि काम गर्ने अवसर दिनु पर्ने बताए । सत्ताको खेलमा नलागि स्वतन्त्र पुर्वक काम गर्ने वातावरण हुनुपर्नेमा उनिहरुको जोड थियो ।

कमेन्टहरु
Loading...